जलवायु परिवर्तनको असर मधेशमा तीव्र, राज्यको उदासीनताप्रति चिन्ता
इसमाचार डटकम । २०८२ असार १६ गते
जनकपुरधाम । जलवायु परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा वातावरणीय संकट गम्भीर बन्दै गएको छ । राजधानी काठमाडौंपछि सबैभन्दा बढी प्रदूषण मधेशमै देखिएको एक कार्यक्रमका वक्ताहरूले जनाएका छन् ।
जनकपुरधाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आइतवार आयोजित “वातावरण परिवर्तनको प्रभावसम्बन्धी“ छलफल कार्यक्रममा प्रदेशभरिका मानव अधिकारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा विज्ञहरूले वातावरणीय समस्यालाई लिएर तीनवटै तहका सरकार गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा मिडिया काउन्सिलका पूर्व अध्यक्ष कैलास दासले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारले तत्काल बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन । उहाँले वातावरणीय न्याय सुनिश्चित गर्न राज्यले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक रहेको कुरा दोहोर्याउनु भयो ।
इन्सेक मधेश प्रदेश संयोजक राजु पासमानको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा आठै जिल्लाबाट आएका अधिकारकर्मीहरु वातावरणीय संरक्षण र नीति निर्माणमा वैज्ञानिक अनुसन्धानको आधारमा कार्यक्रम ल्याउन आग्रह गरे ।
छलफलमा दिवाकर उप्रेतीले बदलिंदो वातावरण र त्यसका असरहरूबारे डिजिटल प्रस्तुति दिँदै प्रदूषण नियन्त्रणका उपाय, नागरिक समाज तथा राजनीतिक दलको भूमिका र मानव अधिकारकर्मीको जिम्मेवारीबारे प्रकाश पारे । उनले भने, “यदि वातावरण प्रदूषणलाई रोक्न सकिएन भने भविष्यमा मानव अस्तित्वमाथि नै संकट आउन सक्छ ।“
उनले जलवायु परिवर्तनको असरबारे केही तथ्यांहरु समेत प्रस्तुतिकरणमा देखाए । घटनाको आधारमा राज्य र समाज गम्भीर हुन आवश्यक रहेको समेत औल्यए ।
वातावरणीय समस्याका रूपमा बाढी, सुख्खा, असमयको वर्षा, अत्यधिक गर्मी, पानीको अभाव, र कृषिमा गिरावट जस्ता चुनौतीहरू दिनानुदिन बढिरहेको छ । यस्ता समस्याको समाधानका लागि राज्य गम्भीर, समन्वयात्मक र दीर्घकालीन नीति लिएर अगाडि बढ्नुपर्ने छ ।
वातावरणीय अनुसन्धानको अभाव, केही क्षेत्रमा कामै नहुनु, कतै कमजोर प्रयास हुनु, र युवामा चेतना नहुनु जस्ता समस्याहरू औंल्याउँदै वातावरणीय परिवर्तन नियन्त्रणमा सबै तहका सरकार गम्भीर हुनुपर्ने छलफलबाट आएको छ ।
HUMAN RIGHTS NEWS PORTAL






