दाङमा २६६ वटा मानव अधिकारका उलंघनका घटना
न्यूज बुटवल टूडे डटकम । २०७९ पुस २ गते
दाङमा अंग्रेजी वर्ष सन् २०२२ मा २ सय ६६ वटा मानवअधिकारसंग सम्बन्धित घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज घोराहीमा सार्वजनिक गरेको तथ्यांक अनुसार, सबैभन्दा धेरै गैरराज्य पक्षबाट २०५, राज्य पक्षबाट १३ र अज्ञात पक्षबाट ८ वटा घटना भएका छन् । दाङमा अभिलेख भएका मध्ये सबैभन्दा धेरै घटना घरेलु हिंसाका रहेका छन् । खान लाउन नदिएको, आधारभूत आवश्यकता पूर्ति नगरेको, अपहेलना गरेको, मादक पदार्थ सेवन गरेर कुटपिट गरेको, लालनपालन नगरेको र सम्पत्तिमाथि हक नभएको जस्तो घटना इन्सेकले अभिलेख गरेको छ । यसवर्ष ११५ वटा घरेलु हिंसाका घटना अभिलेख भएका छन् । जसमा सबैभन्दा धेरै पत्नी र आमा, सासु नातापर्ने पीडित छन् । तथ्याङ्क अनुसार, २० देखि ३० वर्ष उमेर समूहका महिला हिंसामा परेको सबैभन्दा धेरै ७७ घटना छन् भने ३१ देखि ४९ उमेर समूहका ३० र ५० देखि ७० उमेर समूहका ८ वटा हिंसाका घटना छन् ।
यसैगरी दाङमा यो वर्ष ५५ वटा घटना बलात्कार तथा यौनदुव्र्यवहारजन्य घटना अभिलेख भएका छन् । जसमा ४० वटा बलात्कारका घटना छन् भने बलात्कार प्रयासका ७ र यौन दुव्र्यवहारका ८ वटा घटना छन् । बलात्कारका २० वटा घटनामा ३ देखि १७ वर्ष उमेर समूहका बालिका छन् । बलात्कार प्रयासमा सबै महिला छन् भने ८ वटा यौन दुव्र्यवहारका घटनामा ४ देखि १२ वर्ष उमेर समुहका बालिका पीडित भएका छन् । त्यस्तै ९ वटा हत्याका घटनामा १० जना मारिएका छन् । जसमा २ नवजात शिशु, ४ महिला र एक बालिकाको हत्या भएको छ । त्यसमा तीन पुरुष छन् । यस्तै धरपकड, कथित बोक्सी आरोप, आर्थिक लाभका लागि अपहरण, बेचविखन, कुटपिटलगायतका घटना पनि घटेका छन् ।
जिल्लामा भएको २ सय ६६ घटनामा २ सय ५५ जना नागरिक प्रत्यक्ष पीडित भएका छन् । जसमा सबैभन्दा धेरै १ सय ५९ महिला, ३५ बालिका, ३ बालक, २ शिशु र ६१ पुरुष पीडित भएका छन् । यी घटनामा ३६ संस्थागतसहित २ सय ६७ पीडक रहेको तथ्यांकमा उल्लेख छ । यसका साथै कोरोनाका कारण ज्यान गुमाएकाहरुका परिवारले राहत पाउन नसकेको, सडक निर्माण नहुँदा सुरक्षित यात्रा गर्न नपाएको, मुक्त कमलरी, सुकुम्वासी, भूमिहिन समस्या समाधान हुन नसकेको पाईएको छ । सरोकारवालाहरु संवेदनशील हुनुपर्ने न्यायिक निकायले पीडित केन्द्रित सेवामा ध्यान दिनुपर्ने, सार्वजनिक सरोकारका सेवा प्रदायक निकायले सेवाग्राहीमैत्री व्यवहार र न्यायिक संरचनाको निर्माणमा सबै सरोकारवालाको चासो हुनुपर्ने आवश्यकता औँल्याईएको इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले बताए ।