दुहवीमा रहेको छाला उद्योग बन्द गर्न मानव अधिकार आयोगको सिफारिस

कोशी सन्देश डटकम । २०८१ असोज १४ गते

विराटनगर : युनाइटेड लेदर (छाला) उद्योगले प्रदूषण फैलाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन गरी उद्योग बन्द सिफारिस गरेको आयोगका कोशी प्रदेश कार्यालय प्रमुख वीरबहादुर बुढामगरले बताउनु भएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालयले सोमवार विराटनगरमा आयोजना गरेको मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रममा बुढामगरले नागरिकलाई संविधानले स्वच्छ वातावरणको हक प्रदान गरेकाले सोही हक कार्यान्वयनका लागि छाला उद्योग बन्द गर्न सिफारिस गरिएको बताउनु भयो ।

दुहवी नगरपालिका–६ स्थित युनाइटेड लेदर (छाला) उद्योगले प्रदूषण फैलाएको विषयमा अनुगमन गरेर बन्द गर्न सिफारिस गरिएको बुढामगरले जानकारी दिनु भयो ।

छाला उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले विरोधसहित प्रदर्शन र धर्ना गरेपछि आयोगले स्थलगत अनुगमन गरेको थियो । छाला उद्योगले प्रदूषण फैलाएको बारेमा इन्सेक कोशी प्रदेश कार्यालयले समेत अनुगमन गरेको थियो ।

मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगीमा बोल्दै आयोग प्रमुख बुढामगरले मानव अधिकार आयोगले मानवअधिकार उल्लङ्घनका घटनाका पीडितलाई सहयोग गर्दै आएको बताउनु भयो ।

इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक सोमराज थापाले मानव अधिकार सहायता कक्षमार्फत पीडितहरूलाई सहयोग पुर्याउँदै आएको बताउनु भयो ।

मानव अधिकार सहायता कक्षमार्फत मानव अधिकार रक्षकमध्येका पत्रकारलाई समाचार लेखेकै भरमा पत्रकारमाथि कुटपिट भएको घटना वा मानव अधिकारकर्मीलाई तत्कालै उद्दार वा उपचारका लागि इन्सेकले आर्थिक सहयोग गर्दै आएको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो।

मानव अधिकार सहायता कक्षमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिको सिफारिसका आधारमा मानव अधिकार रक्षकलाई आर्थिक सहायता प्रदान गरिदैँ आएको छ ।

Source: https://koshisandesh.com/2024/09/30/120449/

Source: https://ilamkhabar.com/news/9882