देशभर ६९ राउण्ड हवाइ फायर, २८ मध्ये ८ ठाउँमा बम विस्फोट

अन्नपूर्ण पोष्ट । २०७९ मङ्सिर ४ गते

काठमाडौं : औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले देशभरि सुरक्षाकर्मीले ६९ राउण्ड हवाइ फायर गरेका छन्। मतगणनास्थलमा विवाद उत्पन्न भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेको इन्सकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार सबैभन्दा धेरै दोलखामा २६ राउण्ड, हुम्लामा १८ राउण्ड, बाजुरामा ५ राउण्ड, डोटी र ताप्लेजुङमा ४-४ राउण्ड, दार्चुला, रौतहट र सिरहामा ३-३ राउण्ड, स्याङ्जामा २ राउण्ड र चितवनमा १ राउण्ड हवाइ फायर भएको भएको हो। 

त्यस्तै निर्वाचनका क्रममा देशभरि २८ स्थानमा बम फेला परेको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये ८ वटा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।   इन्सेकले देशभरि पर्यवेक्षकमार्फत् प्रतिवेदन तयार पारेको थियो। इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले उक्त प्रतिवेदन आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाएका छन्। कार्यकारी निर्देशकका अनुसार देशभरि करिब ६२ प्रतिशत मत खसेको हो। जसमा युवाहरुको सहभागिता एकदमै न्युन रहेको उनको भनाइ छ।  प्रतिवेदन बुझ्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता शिक्षालाई पाठ्यक्रममै समावेश गराउनुपर्ने बताएका थिए। उनले चार वटा मतपत्र भएकाले पनि केही कठिनाई आएको र त्यसलाई आगामी दिनमा परिस्कृत बनाउँदै लैजाने उनले बताए। 

Source: देशभर ६९ राउण्ड हवाइ फायर, २८ मध्ये ८ ठाउँमा बम विस्फोट (annapurnapost.com)