धनकुटा कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी, इन्सेकद्वारा अनुगमन
ईमधेश न्यूज डटकम । २०८३ असार ३२ गते
ईमधेश न्यूज सम्वाददाता,
धनकुटा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले धनकुटा कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गर्दै कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिएको जनाएको छ। इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेल नेतृत्वको टोलीले कैदीबन्दीको मानव अधिकार, स्वास्थ्य, खानपान, सरसफाइ, सुरक्षा तथा हिरासतको अवस्थाबारे स्थलगत अध्ययन गरेको हो।
इन्सेकका अनुसार ३५ जनाको क्षमता रहेको पुरुष कारागारमा १६९ जना र १५ जनाको क्षमता भएको महिला कारागारमा तीन जना कैदी रहेका छन्। अत्यधिक भीडका कारण सुरक्षा व्यवस्था र आधारभूत मानव अधिकार सुनिश्चित गर्न चुनौती थपिएको संयोजक पोखरेलले बताए। उनले कारागारलाई सुधारगृहका रूपमा विकास गर्दै कैदीबन्दीलाई सीपमूलक तालिममार्फत समाजमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।
कारागारका कैदीबन्दीले खानपान, परिवारसँग भेटघाट, टेलिभिजन, रेडियो र टेलिफोनको सुविधा रहेको बताए पनि खानेपानी र शौचालय व्यवस्थापनमा समस्या रहेको गुनासो गरेका छन्। जेलर सन्दीप न्यौपानेले कारागारमा अहेव र कम्प्युटर अपरेटरको दरबन्दी लामो समयदेखि रिक्त रहेको जानकारी दिए।
यस्तै, जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा एक महिलासहित २३ जना थुनुवा रहेका छन्। एसपी नारायण रञ्जितकारले नयाँ भवनसँगै मानव अधिकारमैत्री हिरासत कक्ष निर्माण गरिएको र थुनुवाप्रति मैत्रीपूर्ण व्यवहार गरिँदै आएको बताए। अनुगमनपछि इन्सेकले सरोकारवाला निकायसँग मानव अधिकार, न्यायमा पहुँच र शान्ति–सुरक्षाका विषयमा छलफलसमेत गरेको छ।
Source: https://www.emadheshnews.com/post?id=1265
Source: https://shorturl.at/J5yeL
HUMAN RIGHTS NEWS PORTAL






