धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार समुह र बाल अधिकार चेतना समूहको छलफल

कैलाली खबर डटकम । २०८१ जेठ २५ गते

२५ जेठ,सुखड । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार समुह र बाल अधिकार चेतना समूहको छलफल कार्यक्रम बिहीबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार समुह र बाल अधिकार चेतना समूहका व्यक्तिहरूको उपस्थितिमा भई रहेका गतिविधिहरूका बारेमा छलफल भएको थियो । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश खडकराज जोशीले मानव अधिकार समुह र बाल अधिकार चेतना समुह गठन भए देखी भएका गतिविधिहरूको एक आपसमा अनुभव आदान प्रदान  गर्ने उद्देश्यले बैठकको आयोजना गरेको बताउनु भयो ।

उहाँले मानव अधिकार समुह पालिकामा संस्थागत रुपमा दर्ता गरी पालिकासँगको सहकार्यमा मानव अधिकार अभियानलाई निरन्तरता दिने र बाल अधिकार चेतना समूहले आफू अनुशासित भई  विद्यालयका अरू बालबालिकाहरूलाई अनुशासनको प्रेरणा प्रदान गर्न मार्ग निर्देश गर्नु पर्ने बताउनु भएको थियो । 

मानव अधिकार चेतना समूहका प्रदेश संयोजक गोविन्द सापकोटाले बाल अधिकार चेतना समूहले पठनपाठन र नियमित गरिने गतिविधि बाहेक विद्यालयमा दिने दिवा खाजा, सेनेटरी प्याड, विद्यालयबाट वितरण गरिने, छात्रवृत्ति तथा बिचमा कक्षा छोड्ने र त्यस्ता विद्यार्थीहरूलाई पुन : विद्यालय फर्काउने वातावरण बनाउने काममा लाग्नु पर्ने बताउनु भयो ।

लैङ्गिक हिंसामा परेका पीडित महिलाका न्यायका लागि न्यायिक समितिमा लगेर सहयोग गर्ने गरेको घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहका अध्यक्ष आशा परियारले बताउनु भयो ।

बाल अधिकार चेतना समूहकी प्रदेश संयोजक आरती सेठीले विद्यालयमा समुह गठन भए देखी पठनपाठन बाहेक विद्यालयमा नियमित अतिरिक्त क्रियाकलाप हुने गरेको र विद्यालयमा करेसाबारीको सुरुवात गरी तल्लो तहका कक्षाका भाइ बहिनीहरूलाई समेत सहभागी गराउने गरेको बताउनु भएको थियो । 

छलफल कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्ला विभिन्न पालिका र विद्यालयमा गठन भएका मानव अधिकार समुह र बाल अधिकार चेतना समूहका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।