धादिङमा ६ महिनाको अवधिमा २१ वटा मानवअधिकार उलङ्घनका घटना

रेडियो धादिङ डटओआजी । २०७८ असार ३१ गते

धादिङमा ६ महिनाको अवधिमा २१ वटा मावनअधिकार उलङ्घनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । इन्सेकद्धारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्वसमीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाबारे सदरमुकाम धादिङबेशीमा भएको छलफल कार्यक्रममा यस्तो जानकारी गराएको हो । इन्सेक धादिङका सीताराम अधिकारीले दिएको जानकारीअनुसार धादिङमा ६ महिनाको अवधिमा स्वास्थ्यकर्मी माथि कुटपिटका २ वटा घटना रहेको छ । यस्तै राजनीतिक विषयका २, अधिकारकर्मीसँगसम्बन्धित २ वटा, घरेलु हिंसाका २ वटा, बलात्कार र बलात्कार प्रयासका ५ वटा, बाल यौन दुव्र्यवहारका ५ वटा , बालबालिकामाथि कुटपिटका १, बाल विवाहका १ र बोक्सी आरोपका १ वटा घटना गरि जिल्लामा ६ महिनाको अवधिमा २१ वटा मानवअधिकार उलङ्घनका घटना  घटेको अधिकारीले जानकारी दिनुभयो । यस्तै पछिल्लो कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नभएको, सरकारले तोकेको खोप केन्द्रहरुमा खोप लगाउने सवालमा अनियमितता भएको गुनासो गरेका छन् । सरकारले लक्षित उमेर समूहलाई खोप दिने भनिएपनि खोप केन्द्रहरुमा लक्षित उमेर समूहका नागरिकले खोप नपाएको स्थिति रहेकोमा कार्यक्रममा सहभागिहरुले सरकारबाटै तोकेर आएको खोप लक्षित समूहले नपाउनु भनेको मानवअधिकारको दृष्टिले मानवअधिकार उलङ्घन भएको बताएका छन् । आगामी दिनमा कोरोना भाइरस विरुद्धको खोप दिने क्रममा यस्ता घटना नदोहोरिन सुझाव दिएका छन् । जिल्ला तहमा खोप वितरणलाई व्यवस्थित बनाउन सहभागीहरुले जोड दिए थिए ।

Source: https://radiodhading.org/news-details/1952/2021-07-15?fbclid=IwAR0W71DS7B0HW9D5QCsUNogubhEwEIZ-rqCKjIQVR_tP7HBdX4qJdgwlBaQ