नागरिक बडापत्र र औषधीको विषयमा मानव अधिकार समूहले उप–प्रमुख चौधरीलाई बुझायो ध्यानाकर्षण पत्र
कैलाली खबर डटकम । २०८१ कात्तिक ९ गते
सुखड । कैलालीको घोडाघोडी नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा नागरिक बडापत्र, निःशुल्क पाइने ९८ प्रकारका औषधी र सेवाहरूको सूचि नटाँसिएको भन्दै तत्काल समस्या समाधान गर्न नगर स्तरीय मानव अधिकार समूहले नगर उप–प्रमुख गुलिया कुमारी चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको समन्वयमा गठित घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहले अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र,आधारभूत स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकीमा नागरिक बडापत्र, निःशुल्क पाइने ९८ प्रकारका औषधी र सेवाहरूको सूचि टाँस्न गर्न माग गरेको छ ।
नागरिक बडापत्रसम्बन्धी सुशासन (व्यवस्थापन र सञ्चालन ऐन २०६४) ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्दछ । सूचना पाउने नागरिकको नैसर्गिक अधिकार हो ।
नागरिकले सूचना छिटो पाउनुपर्दछ र कार्यालयमा प्रस्टसँग देखिने गरी राख्नुपर्छ । तर घोडाघोडी नगरपालिकाको स्वास्थ्य चौकीहरूमा भने नागरिक बडापत्र र निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण समेत कार्यालयमा टाँसिएको बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।
त्यसैले आम सेवाग्राहीलाई सहज र सजिलोका लागी स्वास्थ्य संस्थाहरूमा नागरिक बडापत्र, निःशुल्क पाइने ९८ प्रकारका औषधी र सेवाहरूको सूचि अविलम्ब टाँस्न अनुरोध गरेको छ । उक्त ध्यानाकर्षण पत्र बुझ्दै नगर उप–प्रमुख गुलिया कुमारी चौधरीले जति सक्दो चाँडो समाधान गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो ।