सुर्खेत ः रुकुम पश्चिम चौरजहारी नपा–८ सोतीगाउँमा शनिवार साँझ कुटपिटमा दुई जनाको ज्यान गएको र अरु चार जना बेपत्ता पारिएको भन्दै सुर्खेतस्थित नागरिक समाज संस्थाहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही र पीडित परिवारको न्यायको निम्ति आग्रह गरेका छन् ।
उच्च वार एशोसियसन वीरेन्द्रनगर, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, गैसस महासंघ, नेपाल पत्रकार महासंघ, आवाज संस्था, दलित अधिकार सञ्जाल, समाज जागरण केन्द्र (स्याक), सुन्दर नेपाल संस्था, मानव अधिकार एलायन्स, दलित महिला संघ र स्थानीय सरोकार समूहले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै त्यस्तो आग्रह गरेका हुन् ।
प्रेस विज्ञप्तीमा जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विश्वकर्मा र रुकुम जिल्ला चौरजहारी नगरपालिका–१ का २० वर्षीय टिकाराम विश्वकर्माको शव फेला परेको र अरु चार जना व्यक्ति सम्पर्कमा नआएको भन्दै घटनाप्रति दुख व्यक्त गरिएको छ ।
नवराज विश्वकर्मा र १७ वर्षीया एक युवतीबीच प्रेम सम्बन्धलाई जानकारी भएकाहरुले भागी विवाहका लागि साथ दिन त्यहाँ पुगेकाहरुलाई चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायतको संलग्नतामा कुटपिट भएको खुलेपछि प्रहरीले वडाध्यक्ष मल्ल लगायत १० जना आरोपितहरुलाई नियन्त्रमा लिएको छ ।
प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–११ का चार जना क्रमशः १८ वर्षीय लोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही, २१ वर्षीय सञ्जु बिक र १७ वर्षीय गणेश बीएम बेपत्ता छन् ।
‘जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८’ तत्कालीन व्यवस्थापिका संसदबाट छुट्टै कानून पारित भएको दिन जेठ १० गते दलित समुदायले उत्सव मनाउने दिवसको दिन कर्णाली प्रदेशको एक मात्र छुवाछूत मुक्त स्थानीय तह चौरजहारी नगरपालिका क्षेत्रमा यो घटना भएको छ ।
घटनाको अध्ययन गर्न नागरिक समाजको टोली घटनास्थल पुग्ने तयारी गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले जानकारी दिए । पीडित परिवारलाई न्याय निम्ति आवश्यक परे सडक संघर्ष गर्ने राष्ट्रिय दलित पत्रकार संघ नेपालका कर्णाली प्रदेश अध्यक्ष खगेन्द्र सुनारले बताएका छन् ।
HUMAN RIGHTS NEWS PORTAL






