
नेपालगन्ज १४ जेठ- नेपालगन्ज भन्सार नाका हुँदै नेपाल भित्रिने नेपालीहरुलाई राहत वितरण गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका डाक्टर नितेश कनोडियाको आर्थिक सहयोग तथा इन्सेक नेपालगन्जको सहकार्यमा राहत वितरण गरिएको हो । लकडाउनका कारण लकडाउनमा फसेका भारतका विभिन्न शहरमा काम गरेर फर्किने नेपालीहरुका लागि नेपालगन्ज भन्सार कार्यालय नजिकै हरेक जनालाई खाद्यन्न वितरण गरिएको हो । टाढा टाढाबाट आएका नेपाली नागरिकहरुलाई भोकभोकै हिड्न नपरोस भन्ने उद्देश्यका साथ डा. कनोडियाले राहत वितरण गर्नुभएको हो । डा. कनोडियाले आफ्नो जन्मदिनको अवसर पारेर भारतका विभिन्न शहरमा काम गरेर फर्केका नेपाली नागरिकलाई दुख नपरोस् भनेर व्यक्तिगत सहयोगमा राहत प्रदान गरिएको जानकारी गराउनुभयो ।
यसलाई ७ दिन निरन्तरता दिने उहाँले जानकारी गराउनुभयो । हरेक नेपालगन्ज भन्सार नाका हुदै नेपाल भित्रिने नेपाली १५ सयको हाराहारीमा आउने गरेका छन् । उनिहरु सवैलाई ७ दिन हरेक नागरिकलाई चाउचाउ, पानी, विस्कुट प्रदान गरिने डा. कनोडियाले जानकारी गराउनुभयो । कोरोनाको महामारीमा मनकारी हात यसरी जोडिनु गर्भको कुरा रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले बताउनुभयो । महामारीमा मनकारी हातहरुको खाँचो भएकै बेला सहयोग प्रदान गर्नु अतिउत्तम कार्य रहेको उहाँले बताउनुभयो ।
भारत कमाउन गएका नेपालीहरुका लागि सरकारले नेपाल भारत सिमानाका खुकुलो बनाएपछि दैनिक आवतजावत बढ्दो अवस्थामा छ । भारतमा कमाउन गएका नेपाली नागरिक नेपाल भित्रिन थालेका छन भने नेपालमा कमाउन आएका भारतीय नागरिक भारत जाने क्रम बढ्दो छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस भारतमा पनि व्यापक बन्दै गएसँगै र लकडाउनका कारण मारमा परेसँगै कमाउन गएका नेपाली धमाधम भित्रिन थालेका हुन् । दैनिकजसो नेपालगन्ज भन्सार नाकामा भारतबाट आउने नेपाली र नेपालबाट भारत जाने भारतीय नागरिकको भीड उत्तिकै देख्न सकिन्छ ।
यस अघि नेपालगन्ज भन्सार नाका हुँदै शुक्रबार भारतबाट करिब १५ सयको हाराहारीमा नेपालीहरू भित्रिएका थिए । यस्तै जेठ ७ गते बुधबार ३५ सयको हाराहारीमा नेपालीहरू भित्रिएका थिए भने गत आइतवार ७१४ जना नेपाली नेपाल भित्रिएका थिए । नेपालबाट भारततर्फ जाने भारतीय नागरिक पनि उत्तिकै मात्रामा रहेको जमुनाहा प्रहरीले जनाएको छ । नेपाल आइपुगेका नेपालीलाई हरेक जिल्लाका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा कार्यालयले आ आफ्नो स्थानीय तहका नागरिकलाई लिन नेपालगन्ज भन्सार नै पुग्ने गरेका छन् । आफ्ना नागरिक बाटोमै दुस्ख नपाउन् भनेर नेपालगन्ज भन्सार नाका पुगेर हरेक स्थानीय तहमा पठाउने पहल गरिरहनु भएको छ । भारतबाट आएका नेपाली नागरिकलाई स्थानीय तहमा पु¥याई सोही ठाउँका क्वारेन्टाइनमा राखिने गरेको स्थानिय तहका कर्मचारीहरुले बताएका छन् । उनिहरुलाई लिन ४८ वटा बस, ट्रक, टिप्पर, ट्याक्टर प्रयोग गरेर सम्बन्धित स्थानिय तहमा पु¥याउने गरेको छ । राहत वितरण कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी विर बहादुर ओली, इन्सेक नेपालगन्जका प्रमुख भोला महत, सुरक्षा अधिकारी, लगायतको सहभागिता रहेको थियो ।