नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समीक्षा
पबिल न्यूज डटकम । २०७८ असार ३१ गते
धादिङ–अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ु को पूर्व समिक्षा गरिएको छ । सन् २०२१ को जनवरीदेखि जुनसम्म जिल्लामा संकलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा गरिएको हो । जिल्लामा यस ६ महिनाको अवधिमा २१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले प्रस्तुत गरेका थिए । जसमध्ये कुटपिटबाट दुई जना स्वास्थ्यकर्मी, दुई जना अधिकारकर्मी, एक जना राजनीतिककर्मी घाइते भए । यसैगरी कथित बोक्सीको आरोपमा एक जना, बलात्कार र बलात्कार प्रयासका पाँच ओटा, बाल यौन दुर्व्यवहारका पाँच र १ सय ५० जना विद्यार्थीमाथि शिक्षकहरूले गरेको दुर्व्यवहारको एउटा घटना इन्सेकले अभिलेख गरेको कार्यक्रममा जानकारी गराइएको थियो । जिल्लाको मानव अधिकारको अवस्थाबारे भएको छलफलमा सहभागीहरूले कोभिड १९ विरुद्धको खोप कार्यक्रममा अनियमितता भएको गुनासो व्यक्त गरेका थिए । कोभिड १९ विरुद्धको खोपको, व्यवस्थापनका बारेमा धादिङ स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर अधिकृत श्यामप्रसाद पोखरेलले जानकारी दिए। जिल्ला सरकारी वकिल खेम पाठकले कोभिड १९ विरुद्धको खोप मानव अधिकार अन्तरगत नागरिकको अधिकार भएको बताए ।