न्यायमा पहुँच बढाउन पीडितलाई इन्सेकले दिदै आएको आर्थिक सहयोग उदाहरणीय : मधेशी आयोगका अध्यक्ष डा. दत्तको भनाई

केएन खबर डटकम । धनुषा । २०७९ चैत १६ गते

मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले समस्या वा प्रभावित भएको वेलामा धेरै पीडितलाई न्याय पाउनको लागि आर्थिक समस्या हुने गरेकोले यस्तो वेलामा न्याय प्राप्तिका लागि कानुनी सेवासंगै आर्थिक सहयोग गरिनु मानव अधिकार रक्षकका लागि ठुलो धर्म भएकोे बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेशको आयोजनामा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालासंग मधेश प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दत्तले इन्सेकको अगुवाईमा हिंसा तथा मानवअधिकार उल्लघंन तथा ज्यादती घटनाका पीडितलाई दिदै आएको आर्थिक सहयोगलगायतको कानुनी, परामर्श सेवालगायतको काम उदाहरणीय रहेको बताउनुभयो । उहाँले यस्ता पीडितका लागि आवश्यक पर्ने सहयोगका लागि आफु पनि व्यक्तिगत रुपमा सहायता कक्षमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । देशमा मानवअधिकारको अवस्था अझै संवेदनशील रहेको बताउँदै उहाँले यसप्रति राज्य गम्भिरताका साथ अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।

मधेशमा शिक्षा,स्वास्थ्य, खाद्य, सामाजिक, सांस्कृतिक, आर्थिक समस्याले ग्रसित मधेश प्रदेश जनसंख्याको हिसावले बाक्लो उपस्थिती रहेकाले यसप्रति सरकारले जनताको आधारभुत सेवा र सुविधा उपलब्ध गराउन तथा न्यायको अनुभुति दिलाउन अग्रसरता लिनुपर्ने र मधेशी आयोगबाट हुने सक्ने सहयोगका लागि आफु सदैव तत्पर रहेको बताउनुभयो । महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशका महिला विकास अधिकृत देवकुमारी खत्रीले मानव अधिकारको क्षेत्रमा क्रियाशिल मानव अधिकार रक्षक होस या सर्वसाधारण जनता सवैले समयमै न्याय पाउनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका महिला बालबालिका सेलका प्रमुख प्रहरी इन्स्पेक्टर चन्द्रकला भटटराइले अहिले महिलासंग संगै पुरुषहरु समेत पीडित भई रहेको बताउनुभयो । मधेश प्रदेशमा मानव अधिकार रक्षकहरुले पीडितहरुको न्यायका अहम भुमिका निर्वाह गर्दै आएकोले यसलाई आत्म साथ गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले मधेश प्रदेशमा इन्सेकले वार्षिक रुपमा एक लाख ७० हजार रुपैया पीडितको आर्थिक सहयताका लागि बजेट छुटयाएको बताउनुभयो । पीडितहरुको समस्या र आर्थिक अवस्थालाई मध्यनजर गर्दै अधिकतम दश हजार रुपैयासम्म प्रति पीडितलाई सहयोग गर्ने गरेको बताउनुभयो ।

मानव अधिकार सहयोग कक्षका अध्यक्ष समेत रहनुभएका अधिवत्ता राज कुमार महासेठले आफुहरु कहाँ पीडित व्यक्ति, इन्सेक प्रतिनिधी वा कुनै संघसंस्थाबाट पीडितलाई आर्थिक सहयोगको आवश्यकता भनेर सुचना आएको खण्डमा समितीले अध्ययन, अनुगमन गरेर के कति सहयोग गर्नुपर्ने हो मापन गरि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले अहिलेसम्म पीडितलाई चेकमार्फत सहयोग रकम दिने गरेको बताउनुभयो ।

Source: https://knkhabar.com/news/10416?fbclid=IwAR2noRxTJZVmOmPd6iOEamehdV71OBzQQ_ON3EqXtvdCx-cFA2iVXtMR4t4