न्याय र परिपूरणका सन्दर्भमा देखिने गरी काम भएनः इन्सेक

चितवन पोष्ट डटकम । २०८२ जेठ २३ गते

काठमाडौँ । अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ वैशाख २३ गते एक विज्ञप्ति प्रकाशन गरी चितवनको बाँदरमुढे घटना भएको २० वर्ष पुरा भएको दिनको स्मरण गर्दै न्याय र परिपूरणका सन्दर्भमा देखिने गरी काम नभएको जनाएको छ ।

चितवनको बाँदरमुढेमा नेकपा माओवादीका कार्यकर्ताले २०६२ जेठ २३ गते विद्युतीय धराप विष्फोट गराउँदा बसमा सवार ३९ जना सर्वसाधरण तथा तीन जना निशस्त्र सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको घटनाको सन्दर्भमा विज्ञप्ति प्रकाशन गरी सङ्क्रमणकालीन न्यायका विषयमा देखिने गरी काम नभएको अवधिका रूपमा स्मरण गर्नु वाञ्छनीय हुने उल्लेख गरेको हो ।

इन्सेकले प्रकाशन गरेको विज्ञप्तिमा विस्तृत शान्ति सम्झौता पश्चात धेरै सरकारहरू परिवर्तन हुनका साथै राजनीतिक सहमति भए पनि बाँदरमुढे घटनालगायत सशस्त्र द्वन्द्वसँग सम्बन्धित गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा न्याय तथा परिपूरणका सवाल उपेक्षामा परिरहेको बताइएको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना प्रतिबद्धता, सहमति तथा सङ्क्रमणकालीन न्यायको सवाललाई प्राथमिकतामा राख्न तथा यससम्बन्धमा प्रभावकारी प्रयासहरूको थालनी गर्न राजनीतिक नेतृत्व तथा नेपाल सरकारसँग माग गरिएको छ ।

Source: https://www.chitwanpost.com.np/20250606-28080