पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीद्धारा धम्की, चौतर्फी भत्सर्ना

पैरबी डटकम । २०८० चैत २३ गते

नेपालगन्ज २३, चैत ।  नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघले छुट्टै र अन्य आस्थाका संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने कार्यको घोर भत्र्सना गरेका छन् । महासंघ सचिव कमल डाँगीले एक छुट्टै विज्ञप्ती तथा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य र प्रगतिशील पत्रकार पत्रकार संघका संयोजक तिलक गाउँलेले संयुक्त विज्ञप्ती प्रकाशित गरी निन्दा गरेका हुन् । आफूसंग सम्बन्धित समाचार प्रकाशित भएको विषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाइनका सम्पादक भण्डारीलाई समाचार रोक्न धम्क्याउनुभएको छ ।

कानुन कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन ब्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता विर्सिएर समाचारका समाचारको विषयलाई लिएर हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको घोर निन्दा गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।  प्रहरी उपरीक्षक बोहरामाथि कारवाहीको माग समेत गरिएको छ । पछिल्लो समय पत्रकारमाथि निरन्तररुपमा भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन समक्ष माग पनि गरिएको छ । समयमै नसच्चिए प्रेस स्वतन्त्रता विरोध कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । पत्रकार भण्डारीले बोहराले तस्करसंग पैसा उठाउन टिम नै बनाएर परिचालन गरेको समाचार सम्प्रेषण गर्नुभएको थियो । यस्तै इन्सेक, बार लगायत मानव अधिकारकर्मी, कानुन व्यवसायी र नागरिक समाजका संघसंगठन एवम् प्रतिनिधिहरुले पनि संयुक्त विज्ञप्ती निकालेर भण्डारीको सुरक्षाको प्रत्याभूति गराउन र संविधान प्रदत्त अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएका छन् । यसैबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतको नेतृत्वमा एसपी बोहरामाथि छानविन गर्न समिति बनाएको र छानबिन प्रक्रिया अगाडि बढेको जनाएको छ । 

Source: https://pairabi.com/news/2278

Source: https://www.setokhari.com/detail/13175