पारिवारिक सदस्यबाटै पीडित हुनेको संङ्ख्या बढ्दै

६ महिनामा मानव अधिकार उल्लङ्घनका ४९ वटा घटना दर्ता

सहीखबर डटकम । २०७८ असार ३१ गते

घटना १,
१३ वर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भइन् । छिमेकीको उजुरीपछी ११ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लियो । यो घटना हो ०७७ माघ २ गतेको । मकवानपुर जिल्ला थाहा नगरपालिका ११ का ति १८ वर्षीय दाजुलाई हाल हाडनाता करणी कसुरमा मुद्दा चलिरहेको छ । आरापित दाइले घरमा एक्लै भएको समय मादक पदार्थको सेवन गरी बहिनीलाई बलात्कार गरेको छिमेकीलाई भनेपछि छिमेकीको सहयागमा माघ ५ गते इलाका प्रहरीमा जाहेरी दिएकी थिइन ।

घटना २
१६ वर्षीया अर्की बालिका आफ्नो मामाबाट बलात्कार भइन् । यो घटना हो हेटौंडा उपमहानगरपालिका–६ को । २८ वर्षीय मामाले ०७८ जेठ १७ गते भान्जीलाई बलात्कार गरेका थिए । आरापित मामाले घरमा एक्लै भएको अवस्थामा भान्जीलाई ०७८ जेठ १५ गते बलात्कार गरेका खुलेको छ । आरोपितलाई ०७८ जेठ १६ गते प्रहरीले नियन्त्रण लिएर हाडनाता करणीमा मुद्दा चलाइको छ ।

घटना ३
१६ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेका २६ वर्षीय निरोज मनिहारबाट बच्न सफल बालिकाले प्रहरीमा उजुरी दिइन् तर निरोज हालसम्म फरार छन् । यता ११ र १३ वर्षीया बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुर बकैया गाउँपालिका–३ का २२ वर्षीय इकस थिङलाई २०७७ चैत ६ गते नियन्त्रणमा लिइ, चैत ८ गते बाल यौन दुव्र्यवहार मुद्दा दर्ता गराएको छ । यसैगरी १६ वर्षीया छात्रालाई (फागुन २९ गते) दुव्र्यवहार गरेको आरोपमा मकवानपुर गढीगाउँपालिका–३ को भानु माविका शिक्षक किरण पाण्डेलाई प्रहरीले ०७७ चैत ११ गते नियन्त्रणमा लियो । शैक्षिक भ्रमण जाने क्रममा विद्यालयमा अध्ययनरत छात्रा माथि शिक्षक किरण पाण्डेले दुव्र्यवहार गरेको भन्दै पीडित परिवारले ०७७ चैत ११ गते शिक्षकविरुद्ध उजुरी दिएका दिए। यि केही प्रतिनिधि घटना हुन् । मकवानपुर जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा हिंसाजन्य घटनाहरु झण्डै दोब्बरले बृद्धि भएको तथ्याङ्कले देखाएको छ । मकवानपुरमा विगत ६ महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४९ वटा घटनाहरु भएका छन् । जसबाट ४७ जना महिला र ३ पुरुष गरी ५० जना पीडित भएका छन् ।

सन् २०२१ को जनवरीबाट जुनसम्ममा बाल अधिकार उल्लङ्घनका घटनामा २३ जना बालिका पीडित भएका छन् । जसमा १८ जना बालिकाहरु बलात्कारको शिकार भएका छन् भने ५ जना बालिका यौन दुव्र्यवहारको शिकार भएका हुन् । यसैगरी महिला अधिकारका घटनामा १९ जान पीडित भएका छन् । जसमा १३ महिला बलात्कार शिकार भएका छन्, ३ जना बलात्कार प्रयास र ३ जना बहुविवाहको घटनाबाट प्रताडीत भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले जनाएको छ । यद्यपी जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यस बिचमा बहु विवाहका ५ वटा दर्ता भएका छन् । यसै अवधिमा ५ जना महिला र २ पुरष हत्याको शिकार भएका छन् । यस बिचमा परिवार भित्रकै सदस्यहरुबाट ३ जना बालिका बलात्कारको शिकार भएको इन्सेक मकवानपुरका प्रतिनिधि पुष्पराज अधिकारीले बताए ।

इन्सेकको अभिलेख अनुसार गतवर्ष सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसंङ्ख्यमक महिला पीडित भएका थिए । यसवर्ष ६ महिनामै झण्डै हाराहारीमा पीडितको सङ्ख्या पुगेको तथ्याङ्कले देखाएको छ । इन्सेकले विहीबार अर्धबार्षिक समिक्षा कार्याक्रममा यो तथ्याङ्क सार्वजनिक गरेको हो । विभिन्न महामारीको समयमा यस्ता प्रकारको हिंसाजन्य घटनाहरु वृद्धि हुने गरेको र यो चुनौतिलाई सबै मिलेर सामना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकार देवचन्द्र गर्तौलाले बताए । इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सञ्जाल अध्यक्ष आरती पाठकले संक्रमणकालमा हिंसाको उजुरी बढेको तर प्रहरीसम्म दर्ता हुने क्रममा भने कम देखिएको बताइन्।

यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चुडाकुमारी खड्काले बाल विवाहको उजुरीपछी नियन्त्रणमा लिएर परामर्शपछी घर फर्काउन समस्या हुने गरेको बताइन् । बाल विवाहको केसमा बलात्कारलगायतको घटना जोडिने गरेर कारण परिवार र समाजमा पुनस्र्थापना गराउन समस्या भएको उनले बताइन् । “मुद्दा दर्तासम्मको प्रकृयामा पुगेपछि अभिभावक नै सन्तान स्वीकार गर्न अनाकानी गर्नै गर्छन्, समाजमा इज्जतको सवाल छ भन्छन्” खड्काले भनिन् । घरेलु हिंसाले आत्माहत्यासम्मको घटना भएको बताउँदै खड्काले भनिन् “घरेलु हिंसा नै मुख्य जड हो, जसबाट बालविवाह, हत्या, आत्महत्या बढीरहेको छ ।” चालु आवमा मकवानपुर प्रहरीमा बाल विवाहको घटना भने दर्ता नभएको उनले बताइन् । यसैगरी बाल कल्याण समाज मकवानपुरका प्रमुख प्रकाश खतिवडाले निषेधाज्ञामा महिला हिंसा बढेको बताउँदै कानुनी सेवाको लागि पहल थोरैले मात्रै गर्ने गरेको बताए । जो विरुद्ध उजुरी गरिन्छ उहीसँगै बस्ने परेको कारण पनि हिंसा सहने गरेको उनले बताए । “निशुल्क र गोपनीयताको सुनिश्चिता भएमा उजुरी बढ्ने छ” खतिवडाले भने । सिविन बाल हेल्प लाईन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावलीले यस्ता घटनाहरुमा मुद्दा चलेका मात्रै हेर्दा थोरै देखिन्छ तर वास्तविक घटनाहरु दर्ता प्रकृयामा नआएको बताए । “गहिरो अनुसन्धान गरेर स्थानीय तहहरूले रणनीति योजना बनाउनु पर्ने ज्ञावलीले बताए । कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका प्रलेख अधिकृत गणेश भण्डारीले मानव अधिकारको अवस्था जटिल हुँदै आएको बताए । स्थानीय, प्रदेश तथा संघीय सरकारले घटनाको ट्रेण्डलाई हेरेर न्यूनिकरणको लागि रणनीतिक योजना बनाउनु पर्ने भण्डारीले बताए ।

Source: https://saheekhabar.com/2021/07/15/11627/?fbclid=IwAR1mYSg9En35QiY9pBqaO37eddaBe4i8_USRPFlHamJCwWy7YHa1nFNIa9I%20%E0%A5%A8