पुनर्वासमा पनि ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरि सप्पन्न

सुदूरपश्चिम खबर डटकम । २०७८ फागुन २५ गते
 
पुनर्वास नगरपालिकाले पनि ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ मंगलबार पुनर्वास नगरपालिकाको सभा हलमा विविध कार्यक्रम गरी मनाइएको हो । पुनर्वास नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा ११२ औं अन्तरास्ट्रिय महिला दिवस पुनर्वास नगरपालिकाको सभाहलमा नगर उप-प्रमुख शारदा शर्मा बिस्टको अध्यक्षता तथा नगर प्रमुख जिवनराज थापाको प्रमुख अतिथित्यमा, अतिथिमा प्रमुख प्रशासकीय  अधिकृत गणेश सिंह ऐरि, इन्सेक प्रदेश संयोजक खडक सिंह जोशी, पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयहरूका प्रधानाध्यापक एवं प्रतिनिधिहरू र विद्यार्थीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, नगर क्षेत्र भित्रका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जाल, आमा समूह, महिला समूह, महिला अधिकारकर्मी, युवा समूह, सञ्चारकर्मीहरू, नागरिक समाज र सरोकारवाला सर्वसाधारणहरूको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रमको संचालन शंकर बोगटीले गर्नु भएको थियो ।
 
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले नेपालको संविधानमा समेत महिलाको हकलाई प्राथमिकता दिएको र त्यसको सफल कार्यान्वयनमा सबै महिला पुरुष एक जुट भएर उभिनु पर्नेमा जोड दिनु भएको छ । नगरपालिकाले महिला सम्बन्धी विभिन्न कार्यक्रम गर्दा पनि महिलाहरु नै उपस्थिति हुन नसक्नु दु:खद कुरा भएकोले आफ्ना लागि अरु कसैले नगरी दिने भएकाले आफै जागरुक हुने पर्नेमा जोड दिनु भयो । त्यस्तै, नगर उपप्रमुख शारदा शर्मा बिस्टले महिला माथि हुने गरेका अधिकाश हिंसा महिलाले नै गर्ने भएकाले त्यस्को रोकथामका लागि सबै भन्दा पहिले महिलानै स्वयम् जागरुक हुन जरुरी छ । हाम्रो नगरपालिका अन्तर्गत रहेको न्यायिक समितिमा पनि थुप्रै हिंसाका घटनाहरूका उजुरी आउने गरेको बताउँदै उपप्रमुखले महिला हिंसा विरुद्ध महिला पुरुष सबै जागरूक हुनु पर्नेमा जोड दिनु भयो । हाम्रो गाउँ घरमा हुने महिला हिंसा सहनुलाई पनि हिंसा मानिने भएकाले त्यस्ता किसिमका हिंसाका बारेमा सम्बन्धित निकायमा उजुरी गर्न अवस्यक रहेको उल्लेख गर्नु भएको थियो ।