पूर्णिमायालाई प्रकाश मानव अधिकार पुरस्कार प्रदान
हिमाल खबर डटकम । २०८१ साउन १६ गते
न्यायका लागि संघर्ष गरिरहेकी काभ्रेकी पूर्णिमाया लामालाई प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ।
ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा बुधबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लामालाई पुरस्कार प्रदान गरेका हुन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष लामालाई प्रदान गरिएको हो। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।
२०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एअर दुर्घटनामा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो। नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै इन्सेकले प्रकाश मानव अधिकार पुरस्कार स्थापना गरेको हो। उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको इन्सेकका अध्यक्ष कुन्दन अर्यालले बताए।
.jpg)
पुरस्कार ग्रहण गर्दै लामाले सशस्त्र द्वन्द्वपीडितले न्याय पाउनुपर्ने बताइन्। २०६२ वैशाख १६ मा माओवादीले उनका पति अर्जुन लामालाई अपहरण गरेका थिए। तर अहिलेसम्म थप जानकारी नपाएको बताउँदै लामाले भनिन्, “न लास ल्यायो न चिहान नै देखायो। खाल्डो खनेर जिउँदै गाडेको भन्ने सुनेकी छु, मैले न्याय पाउनुपर्छ।”
कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले संक्रमणकालीन न्यायलाई टुंगोमा लैजान सरकार प्रतिबद्ध रहेको बताए। “न्याय मर्नेछैन, यहाँको आन्दोलनमा सरकार छ,” उनले भने।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले न्याय दिन्छु भनेर बसेको निकायले न्याय दिएन भने त्यो पनि पीडक हो कि भनेर प्रश्न गरिन्।
Source: https://www.himalkhabar.com/news/142523
Source: https://gorkhapatraonline.com/news/117996
Source: https://shorturl.at/mPF5s
Source: https://sunrisekhabar.com/news-details/83470/2024-07-31
Source: https://farakdhar.com/story/137431/
Source: https://khabarhub.com/2024/31/667848/
Source: https://devghatonline.com/news/22584
Source: https://www.nepalgunjnews.com/main-news/20240774917/
HUMAN RIGHTS NEWS PORTAL






