प्रकाश मानवअधिकार पुरस्कार-२०७६ बाजुराका डा. विश्वकर्मालाई
शिलापत्र संवाददाता
काठमाडौं, १६ साउन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २८औँ स्मृति दिवसका अवसरमा २६औँ ‘प्रकाश मानवअधिकार पुरस्कार–२०७६’ बाजुराका डा. रूपचन्द्र विश्वकर्मालाई प्रदान गरिने भएको छ । शुक्रबार इन्सेकले काठमाडौंमा आयोजना गरेको २८औँ प्रकाश स्मृति दिवस तथा २६औँ प्रकाश मानवअधिकार पुरस्कार घोषणा समारोहमा सो जानकारी गराइएको हो ।
मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा पुर्याएको योगदानका लागि यसअघि २५ जनालाई प्रकाश मानवअधिकार पुरस्कारबाट पुरस्कृत गरिसकिएको इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बताइन् । अध्यक्ष श्रेष्ठले कोरोना महामारीका कारण यो वर्ष पहिलोपटक पुरस्कृत व्यक्तिको उपस्थितिबिना कार्यक्रम गर्नुपरेको बताइन् ।
इन्सेकका महासचिव रूद्रबहादुर चर्माकारले इन्सेकका ७ प्रदेशमा रहेका प्रदेश कार्यालयहरू तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिसको सूचीलाई पुरस्कार छनोट समितिले पुरस्कृत व्यक्तित्व छनोट गरिएको बताए । ‘बाजुरा जिल्लाको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तित्वका रूपमा सुपरिचित रूपचन्द्र विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको हो,’ महासचिव चर्माकारले भने ।
कोरोना सङ्क्रमणको महामारीका कारण यो वर्ष १६ साउनमा पुरस्कार प्रदान गर्न नसकिएको बताउँदै अवस्था सामान्य भएपछि पुरस्कार प्रदान गरिने पनि उनले जानकारी दिए ।
कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य एवं राष्ट्रपतिका पूर्वमानवअधिकार र राजनीतिक विज्ञ सुशील प्याकुरेलले स्व. प्रकाश काफ्लेले मानवअधिकारको क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
इन्सेकका संस्थापक सदस्य डा. बद्रिप्रसाद खतिवडाले नेपालको मानवअधिकारको विकासका लागि स्व. काफ्लेको निकै ठूलो योगदान रहेको बताए । मानव अधिकारकर्मी गणेश विकले पुरस्कृत व्यक्तित्वले समाजमा योगदान पुर्याएको र उक्त कामलाई इन्सेकले चिनेको बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७, १५:०१:००