बाबु–आमा गुमाएका बालकहरूलाई इन्सेकले गर्‍यो सहयोग

सनराइज खबर डटकम । २०८० कात्तिक ३ गते

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ भलुवाजोरका बाबु–आमा दुवै गुमाएका बालबालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले) आर्थिक सहयोग गरेको छ ।  इन्सेकले मानव अधिकार संरक्षण सञ्जाल रामेछाप मार्फत उनीहरूलाई तत्काल राहतको लागि आर्थिक सहयोग गरेको हो । मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ तथा इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिकले घरमा नै गएर रकम हस्तान्तरण गर्नुभएको हो । 

इन्सेकले प्रदान गरेको रकम सञ्जालका संयोजक पाण्डव प्रसाईँले पीडित बालकहरूका माहिलो बाबुका छोरा पदम बसेललाई हस्तान्तरण गर्नुभयो । इन्सेकले राहत स्वरूप ८ हजार रुपैँया उपलब्ध गराएको छ ।  गत बडादशैँको नवमीको दिन आमा गुमाएका चार जना बालकले एक वर्ष नबित्दै पुनः बाबु पनि गुमाएका छन् । आमा–बाबु गुमाएपछि भक्तबहादुर बसेल र गीता बसेकला छोराहरू १८ वर्षका लेखबहादुर बसेल, १६ वर्षका सञ्जीव बसेल, १२ वर्षका सरोज बसेल र आठ वर्षका सन्दीप बसेल बिचल्लीमा परेका छन् । चार भाइ मध्ये लेखबहादुर र सञ्जीवले बिचमा नै पढाइ छाड्नु भएको छ भने सरोज पाँच र सन्दीप तीन कक्षमा पढ्दै हुनुहुन्छ । 

आर्थिक रूपले अति विपन्न परिवारका ती बालकहरूका बाबु बितेपछि स्थानीयले चन्दा उठाएर क्रिया कर्म गराएका छन् । आर्थिक अभावका कारण उनीहरू समस्यामा परेको समाचार आएपछि सहयोगीहरूले उहाँहरूलाई सहयोग गरिरहनुभएको छ ।  उहाँहरूलाई तत्कालीन सहयोगका साथै दीर्घकालीन सहयोग आवश्यक रहेको स्थानीय कमल बेसलले बताउनुभयो । ‘साना दुई भाइलाई पठन  पाठनको व्यवस्था  मिलाउन सकियो भने ठुलो सहयोग हुन्छ’, उहाँले भन्नुभयो । 

Source: https://sunrisekhabar.com/news-details/73699/2023-10-20?fbclid=IwAR1hKYwxSc5wrGHbP-4gWbwo1zhOoDxlZcp5xI__SQQa2vxyzNzCGS7cpHM