बालबालिकाको अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्नेमा जोड
धनगढी खबर डटकम । २०८० पुस २१ गते
धनगढी ।सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूूहको बैठक धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बैठक शुक्रबार सम्पन्न भएको हो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका निमित्त संयोजक कृष्णबहादुर विश्वकर्माले बाल अधिकार चेतना समूहका पदाधिकारीहरु तथा विद्यार्थीहरुले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्ने बताए । इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार अभियानमा जोडेर समाजमा सकरात्मक परिवर्तन र वातावरण संरक्षणका लागि सचेतना फैलाउन उनले आग्रह गरे
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका कार्यक्रम संयोजक राजकुमार चौधरीेले बाल अधिकार चेतना समुहका पदाधिकारीहरुले विद्यालयमा रहेका समस्याको पहिचान गरेर आगामी योजना बनाउन सहज हुने बताए ।
बाल अधिकार चेतना समूहका सहसचिव भावना रानाले विद्यालयको छेउछाउको पसलमा सुर्तीजन्य पदार्थको खुला रुपमा बिक्रीवितरण भइरहेको बताइन् । उनले यस्ता बिषयमा सरोकारवाला पक्षको ध्यान जान नसकेको बताइन् ।
बाल अधिकार चेतना समुहले यस्ता क्रियाकलाप रोक्न सचेतना कार्यक्रम आएको बताइन् ।
बाल अधिकार चेतना समूहकी सदस्य एलिजा चौधरीले बाल अधिकार चेतना समूह गठन भएदेखि विद्यालयमा पठनपाठनसँगै बालभित्ते पत्रिका प्रकाशन, सडक नाटक, बक्तृत्वकला र निवन्ध प्रतियोगिता सम्पन्न गरिएको बताइन् ।
बाल अधिकार चेतना समूहका सदस्य अमित चौधरीले बिना कारण विद्यालय बन्द हुँदा समयमा पाठ्यक्रम नसकिदा विदार्थीहरुमा शिक्षण सिकाई नभएको बताए ।
बाल अधिकार चेतना समूहका सदस्य समिप पोखरेलले बाल अधिकार चेतना समुहलाई शिक्षकहरुले थप सहयोग गरेको अवस्थामा समूहले सक्रिय भएर गतिविधि सञ्चालन गर्न सहज हुनेमा जोड दिए ।