बाल अधिकार चेतना समूहद्वारा विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा वृक्षारोपण
कैलाली खबर डटकम । २०८३ जेठ २२ गते
सुखड । ५४ औँ विश्व वातावरण दिवसको अवसरमा कैलालीका विभिन्न सामुदायिक विद्यालयमा वृक्षारोपण गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–२ साँडेपानी स्थित दशरथ नमुना माध्यमिक विद्यालय, घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालय तथा कैलारी गाउँपालिका–७ भुईँयाफाँटा स्थित पशुपति शिक्षा मन्दिर विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा विद्यालयमा गठन गरिएका बाल अधिकार चेतना समूहहरूको आयोजनामा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।
“समृद्धि भविष्यको आधार: जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। वातावरणीय सन्तुलन कायम राख्न, हरियाली प्रवर्द्धन गर्न तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
पहलमानपुर र साँडेपानीमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले वातावरण संरक्षण आजको साझा दायित्व भएको बताएका छन्। उनले जलवायु परिवर्तनका बढ्दो चुनौतीका बिच वृक्षारोपण वातावरण संरक्षणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै हरियाली प्रवर्द्धन र प्राकृतिक सन्तुलन कायम राख्न प्रत्येक नागरिकले कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।जोशीले विद्यालय स्तर बाट वातावरणीय चेतना अभिवृद्धि गर्न सकिए भावी पुस्तामा प्रकृतिप्रति जिम्मेवारी बोध विकास हुने बताउँदै बालबालिकाको सहभागितामा सञ्चालन गरिएका यस्ता कार्यक्रमले वातावरण संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने धारणा राखे। स्वच्छ, स्वस्थ र सुरक्षित वातावरणमा बाँच्न पाउनु प्रत्येक नागरिकको अधिकार भएको उनको भनाइ थियो ।
विश्व वातावरण दिवसको अवसरमा गरिएको वृक्षारोपणले विद्यालय परिसरलाई हराभरा बनाउनका साथै विद्यार्थीहरूलाई वातावरण संरक्षणप्रति जिम्मेवार र सचेत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । विद्यालयमा गठन गरिएका बाल अधिकार चेतना समूहहरूले नियमित सरसफाइ, वृक्षारोपण, जनचेतनामूलक सडक नाटक प्रदर्शन, हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता तथा भित्ते पत्रिका प्रकाशनलगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् ।
वृक्षारोपण कार्यक्रममा इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशी, इन्सेकका कार्यक्रम फोकल पर्सन राजकुमार चौधरी, गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी प्रसाद खनाल, अधिवक्ता पुष्पविक्रम शाही, मानव अधिकार समूहका पदाधिकारीहरू, बाल अधिकार चेतना समूहका विद्यार्थीहरू, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, संरक्षक शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






