बाल विवाह,दाइजो प्रथा र घरेलु हिंसा सम्बन्धी सडक नाटक प्रदर्शन

कैलाली खबर डटकम । २०८१ मङ्सिर १७ गते

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा बाल विवाह,दाइजो प्रथा र घरेलु हिंसा सम्बन्धीको सचेतना मूलकको सडक नाटक प्रदर्शन गरीएको छ । नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा विभिन्न सघ संस्थाहरूको समन्वयमा कार्यक्रम भएको कार्यक्रममा सचेतना मूलक सडक नाटक प्रदर्शन गरीएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा दशरथ माध्यामिक विद्यालयमा गठन गरिएको बाल अधिकार चेतना समूहले नाटक प्रदर्शन गरीएको थियो । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने नाराका वडामा मनाइएको ३३ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहले नाटक देखाएका हुन् ।

नाटकमा सनै उमेरमा विवाह गर्दा धेरै समस्याहरू उत्पन्न हुने हुनाले यसलाई रोकथामको प्रयास गर्न सबैको सहभागिता हुनुपर्नेमा जोड दिइएको छ । लैङ्गिक हिंसा,बालविवाह र दाइजो प्रथा रोकथाम गर्न सबै बालबालिका, अभिभावक, विद्यालय प्रशासन र विभिन्न सरकारवालाहरूको निकै ठुलो भूमिका हुने कुरा नाटकमा उल्लेख छ । बालविवाह भएपछिको अवस्थामा के कस्ता समस्या र दुख आइपर्छ भनेर नाटकको माध्यमबाट देखाइएको थियो ।

सडक नाटक प्रदर्शनीमा सहभागी नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि खडक बहादुर रावतले सडक नाटकले समाजको यथार्थ कुरालाई चित्रण गरेको बताए । नाटकले दिन खोजेको सन्देशलाई मनन गरेर आ–आफ्नो घर तथा समाजमा व्यक्त बाल विवाह,दाइजो प्रथा र घरेलु हिंसाको न्यूनीकरण गर्नु पर्नेमा जोड दिनु भयो ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, विद्यार्थी, अभिभावक, भलमन्सा, जनप्रतिनिधि,मानवअधिकार समूहका सदस्यहरू, बाल अधिकार चेतना समूहका पदाधिकारी लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

Source: https://shorturl.at/W9c22

Source: https://shorturl.at/vuaO9