बाल सञ्जाल गठन गर्न भेला

समाधान न्यूज डटकम । २०७९ वैशाख २३ गते

कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन तथा परिचालन गर्न बाल भेला भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा भएको भेलामा पोखरा महानगरपालिका, रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिकाका गरी ३० बालबालिकाको सहभागिता छ । भेलामा गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले बालबालिका भविश्यका कर्णधार नभएर वर्तमानका साझेदार भएको बताए । ‘बाल अधिकारसँगै कर्तव्य पालनाका विषयमा पनि सचेत भए जिम्मेवार नागरिक बन्न सकिन्छ,’ सचिव लामिछानेले भने, ‘कर्तव्यनिष्ठ र सचेत नागरिकले देश निर्माणमा सहयोग पुग्छ ।’ उनले मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालबालिका सवाललाई प्रयाप्त रुपमा समेट्ने जानकारी दिए ।

शिक्षा निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले समाजमा हुने कुनै प्रकारका हिंसाबाट बालबालिकालाई जोगाउनुपर्ने बताए । उनले सबै बाल अधिकार सुनिश्चित हुँदै गएको खण्डमा मुलुकको विकास र समृद्धिका लागि सहयोग पुग्ने चर्चा गरे । गैर सरकारी संस्था महासंघ नेपाल अध्यक्ष रामप्रसाद सुवेदीले राज्यले बाल अधिकारसम्बन्धी महासन्धी तथा बाल बालिकाको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने माग गरे । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले नेपालको संविधान अनुसार बाल अधिकार सुनिश्चित हुन नसकेको बताए । बालबालिकाको व्यक्तित्व विकास र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि भेला गरेको जानकारी दिँदै उनले स्थानीय तहको निर्वाचनपश्चात प्रदेश स्तरीय बाल भेला गर्ने उल्लेख गरे ।

कार्यक्रममा मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक चन्द्रकान्त चापागाईँ कास्कीका समन्वय अधिकारी नवराज बराल, सामाजिक विकास कार्यालय कास्कीका प्रमुख ईन्द्रहादुर थापा, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका वरिष्ठ अधिकृत विष्णुमाया पौडेल, राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकारी बद्रीप्रसाद वाग्ले, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रममा प्रमुख प्रिती पाण्डे, बालगृह सञ्जाल महासंघ नेपालका महासचिव विजयकुमार प्रधान, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष ईन्द्रकुमारी शर्मा, पोखरा महानगर बालमञ्चका उपाध्यक्ष प्रतिष्ठा पौडेलले बाल अधिकारका विषयमा बोलेका थिए । भेलामा बाल अधिकारसम्बन्धी महासन्धी, बाल अधिकार ऐन २०७५, प्रदेश ऐन २०७८, बालश्रम, बाल अधिकार मैत्री स्थानीय शासन लगायतका विषयमा सहजीकरण गरिने इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्माले जानकारी दिइन् ।

Source: https://www.samadhannews.com/2022/05/06/44309/