बेपत्ता नागरिक तत्काल सार्वजनिक गर्न आफन्तको माग

नेपालगञ्ज न्यूज डटकम । २०८० भदौ १३ गते

बेपत्ता नागरिक तत्काल सार्वजनिक गर्न आफन्तको माग पीडित लक्षित कार्यक्रम ल्याउने राप्तीसोनारी गाउँपालि अध्यक्षको प्रतिवद्धता बेपत्ता पारिएका आफन्तको तत्काल सार्वजनिक गर्न पीडित परिवारले माग गरेका छन् । वलपुर्वक बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का सन्दर्भमा बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजित बेपत्ता पीडितको न्यायमा स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पीडितहरुले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका पीडित लक्षित कार्यक्रम ल्याउन माग गरेका थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले पीडित लक्षित कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका थिए । एडभोकेसी फोरम नेपाल, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, राप्तीसोनारी गाउँपालिका र द्धन्द्धपीडित संजाल राप्तीसोनारीको संयुक्त आयोजनामा भएको कार्यक्रममा देव बहादुर डिसी, मनबिर घर्ति सिता शाह, डम्मर शाही, राजरानी गोडिया लगायतका पीडितले वेपत्ता पारिएकाहरु सार्वजनिक नहुँदा रातदिनको मानसिक पीडाका साथै आशा र निराशा छाएको भन्दै तत्काल वेपत्ता पारिएकाहरुको सार्वजनिकिरण गरि न्याय सहितको परिपुरणको ब्यवस्था गरिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले पीडितलाई न्यायको प्रत्याभुति दिलाउनु पर्ने राज्यको दायित्व भएकाले तत्काल बेपत्ता पारिएका ब्यक्तिहरुको सार्वजनिकरण गरि पीडित परिवारलाई सत्य, न्याय र परिपुरणको ब्यवस्था गरिनु पर्नेमा जोड दिए । स्थानिय सरकारले पीडितहरुको आवश्यकता, चाहाना र सन्तुष्टि मिल्ने खालका पीडित लक्षित कार्यक्रम ल्याउनु पर्ने भनी गौतमले भनाई राखेका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज कार्यालय प्रमुख द्धारिका अधिकारीले बेपत्ताका घटनामा मानव अधिकार आयोगले गरेको सिफारिस कार्यान्वयन नभएको जनाउदै पीडितको न्यायमा राज्य गंभिर बन्नु पर्नेमा जोड दिईन ।

कार्यक्रममा इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले पीडितको सवाल संवोधनमा स्थानिय सरकारको महत्वपुर्ण भुमिका रहेको जनाउदै स्थानिय स्तरमा पीडितहरुको सवाल, बुझ्ी पालिकाले पीडित लक्षित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पालिकाले पीडितहरुका लागी बजेट छुट्याएको जानकारी दिदै पीडित लक्षित कार्यक्रम ल्याउन आफु प्रतिवद्ध रहेको बताएका थिए । पीडितहरुको शिक्षा, स्वास्थ्य लगायतमा आफुले सक्दो सहयोग गर्ने बताउदै अध्यक्ष पौडेलले यसका लागी द्धन्द्ध पीडितहरु पनि सक्रिय भई पालिका समक्ष ठोस प्रस्ताव लिएर आउनु पर्ने बताए । कार्यक्रममा पालिकाकी उपाध्यक्ष मनिशा थारुले पालिकाले द्धन्द्ध पीडित संजालसंग सहकार्य गर्दै आएको जनाउदै पीडितहरुको सवाल सम्बोधनमा पालिकाको सहयोग रहने बताईन । पालिकाले पीडितहरुसंग नियमित बैठक गर्ने, उनीहरुका कुरा सवाल सुनी सहयोगको सुरुवात गरेको जानकारी दिईन ।

कार्यक्रममा बोल्ने पीडितहरुले परिचय पत्र, तथ्याङ्क संकलन, शिक्षा, स्वास्थ्य, रोजगारको नितिगत व्यवस्था हुनुपर्ने माग राख्नुभएको थियो । द्वन्द्ध पीडित संजाल राप्तीसोनारीका अध्यक्ष देव बहादुर डिसीले द्वन्द्ध पीडितको छोराछोरीहरुलाई छात्रवृद्धि ,वडाबाट दिइने सिफारिस निशुल्क हुनुपर्ने माग राखेका थिए । कार्यक्रममा पीडितहरुले बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर, बलपुर्वक बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक गर, नया कानूनमा आवश्यक संशोधन गर, पीडितको सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर भन्ने लगायतका नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए ।

Source: https://www.nepalgunjnews.com/main-news/20230868851/