‘मङ्सिर ४ गतेको चुनाव भयरहित तथा निष्पक्ष रुपमा हुने’

अनलाइन रेडियो नेपाल डटकम । २०७९ कात्तिक २१ गते

जनकपुरधाम । अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको सहभागितामा आज जनकपुरधाममा अन्तर्संवाद कार्यक्रम गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भएको सो कार्यक्रमका सहभागीहरूले चुनावलाई शान्तिपूर्ण तथा भयरहित रुपमा सम्पन्न गर्नका लागि भएको सुरक्षा थ्रेटप्रति सरोकारवाला निकायहरू गम्भीर  भएर मतदान सम्मको अवधिमा सहज वातावरण बनाउनेतर्फ सजग रहन आवश्यक भएका औँल्याउनुभयो ।  वक्ताहरूले खास गरेर मतदान केन्द्रहरूलाई अपाङ्ग तथा ज्येष्ठ नागरिक मैत्री बनाउनेतर्फ गम्भीर रहन जरुरी रहेकोमा जोड दिनुभयो ।  धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले भयरहित वातावरणमा निर्वाचनको सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गर्नका लागि आफूहरू गम्भीर भएको बताउनुभयो ।

उहाँले धनुषामा निष्पक्ष, भयरहित तथा स्वतन्त्रता पूर्वक निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सरोकारवाला निकायसँग निरन्तर गृह कार्यमा रहेको बताउनुभयो ।  धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निष्पक्ष तथा भयरहित रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकाय गम्भीर  भएर लागेको बताउँदै भारतीय नम्बर प्लेटको गाडी तथा भारतीयलाई प्रचार प्रसारमा अवरोध गर्ने काम भएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालयका जनकपुरधामका प्रमुख मञ्जु खतिवडाले निर्वाचनलाई निष्पक्ष तथा भयरहित रुपमा सम्पन्न गर्दै मानव अधिकारको अधिकतम ख्याल गरेर मतदान केन्द्रको व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो ।  नेपाल प्रहरीका संघीय इकाईका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ध्रुवराज राउतले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

ईन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा बालबालिकाको प्रयोग तथा भोज भतेर गर्ने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै यसमा कमी ल्याउन आवश्यक भएको बताउनुभयो । कार्यक्रममा सहभागी भएका अन्य वक्ताहरूले ग्रामीण क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधन तथा भारतीय व्यक्तिहरू पनि प्रचार प्रसारमा संलग्न भएकाले नियन्त्रणमा लिनका लागि सुझाव दिएका थिए ।  यसैगरी, सहभागीहरूले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि १ हजार तथा पाँच सय दरको नोट चलन चल्तीमा केही दिनका लागि रोक लगाउनुपर्ने सुझाव सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अबधेश कामत, महिला अधिकार कर्मी सुभद्रा आले, नेपाल वार एशोसिएशनका जनकपुरधामका पूर्व अध्यक्ष किशोरी साहसहितका वक्ताहरूले विभिन्न राय सुझावहरू दिनुभएको थियो । 

Source: https://onlineradionepal.gov.np/2022/11/07/342086.html