मदन राईले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेकाे स्थलगत अध्ययनको निष्कर्ष
हिमालखबर डटकम । २०८० जेठ ७ गते
व्यावहारिक शिक्षा दिने नाममा शुभम फाउन्डेशनद्वारा सञ्चालित विद्यालयमा विद्यार्थीमाथि यौन दुर्व्यवहार र श्रम शोषण हुने गरेको विभिन्न संघसंस्थाको स्थलगत अध्ययनले देखाएको छ। खोटाङ सदरमुकाम दिक्तेलमा अवस्थित फाउन्डेशनका अध्यक्ष मदन राईले विद्यार्थीकै अगाडि नाङ्गिने, संवेनदनशील अङ्गमा छुन लगाउने, मसाज गर्न लगाउने र अश्लील शब्द बोल्ने जस्ता यौनजन्य गतिविधि गर्ने गरेको भेटिएको अध्ययनको निष्कर्ष छ। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सीजप), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, सीवीन नेपाल र इन्सेकको संयुक्त स्थलगत अध्ययन प्रतिवेदनमा राईले विद्यालयमा यस्ता हर्कत गर्ने गरेको औंल्याइएको हो। यही आरोपमा राईलाई जिल्ला प्रहरी कार्यालय, खोटाङले हिरासतमा राखेको छ।
विद्यालय हाताभित्रै सञ्चालित होमस्टे र क्याफेमा कर्मचारी नराखी बालबालिकालाई नै कामदार बनाएको, क्याफेमा मदिराजन्य पदार्थ बेच्ने गरेको पनि प्रतिवेदनमा छ। राईले श्रीमती शुभद्रा र आफ्नो नामबाट शुभम फाउन्डेशन खोलेका हुन्। फाउन्डेशनले स्थानीय जनजागृति विद्यालयको व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। विद्यालयमा १०१ जना विद्यार्थी अध्ययनरत छन्। ‘ज्ञान र सीप सँगसँगै’ नारा सहित फाउन्डेशनले विद्यालय चलाउँछ। सञ्चालक राई पक्राउ परेपछि विद्यालयका प्रधानाध्यापक सूर्य राईले विद्यालयको यौनजन्य गतिविधिबारे बोलेमा जेल जानुपर्ने भन्दै विद्यार्थीलाई धम्क्याएको पनि प्रतिवेदनमा उल्लेख छ। फाउन्डेशनका अध्यक्ष राईमाथि लागेको यो आरोपबारे नगरपालिका समेत विभाजित रहेको प्रतिवेदनमा खुलाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले मध्यमार्गी कुरा गरिरहेको र उपमेयर विशन राईले पीडकको पक्षमा वकालत गरिरहेको प्रतिवेदनमा छ।
Source: https://www.himalkhabar.com/news/135914