महिला, दलित, अल्पसङ्ख्यक र वातावरणको अधिकारका सम्बन्धी अन्तरसंबाद कार्यक्रम सम्पन्न

कैलाली खबर डटकम । २०८१ कात्तिक १२ गते

सुखड । कैलालीको गौरीगंगा नगरपालिकामा महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकार सम्बन्धी अन्तरसंबाद कार्यक्रम सम्पन्न भएको छ । डिसिएको सहयोग, मानव अधिकार समुह गौरीगंगा नगरपालिको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीको आयोजनामा कार्यक्रम भएको थियो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रदेश संयोजक खडक राज जोशीले कार्यक्रमको सहजीकरण तथा उद्देश्यमाथि प्रकाश पार्नुहुँदै महिला, दलित, अल्पसङ्ख्यक र वातावरणका अधिकारलाई संविधानको मौलिक हकमै संवैधानिक रुपमा व्यवस्था गरिएको र सो अनुसार ऐन कानुहरू पनि बनेको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो ।

महिला, दलित, अल्पसङ्ख्यक र वातावरणका सवालमा महत्त्वपूर्ण नीति तथा कार्यक्रमहरू ल्याएको हुँदा ती नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायसँग उहाँले आग्रह गर्नु भएको थियो । अन्तरसंबाद कार्यक्रम कार्यक्रममा विभिन्न व्यक्तिहरूले आफ्ना जिज्ञासा,प्रश्न तथा गुनासाहरू राखेका थिए ।

कार्यक्रममा भलमन्सा तेज बहादुर चौधरीले बडघर तथा भलमन्साको बारेमा नगरपालिकाले के कस्ता कार्यक्रम सञ्चालन गरेको छ भन्ने बारेमा प्रश्न गरेका थिए । साथै उनले मरुवा निमार्णमा नगरपालिकाले कुनै बजेट नछुटाएको समेत बताए ।

उत्पीडित समन्वय मञ्च गौरीगङ्गाकाका नगर उपाध्यक्ष सन्तोष आउँजीले दलितको लागी नीतिगत रुपमा बजेट छुटाउनु पर्ने र बजेट निमार्णमा दलित समुदायलाई किन नसमेटिएको भनेर प्रश्न गरेका थिए ।

कार्यक्रममा सहभागी खिमा देवी सार्कीले योजना छनोट प्रक्रियामा दलित समुदायको प्रतिनिधित्व नहुने गरेको उनको भनाई थियो । यसले गर्दा दलितका माग मुद्धाहरु ओझेलमा परेको उनको धारणा रहेको थियो ।

शोभा विकले महिला, दलित, अल्पसङ्ख्यक समुदायको सहभागिता हरेक क्षेत्रमा कम हुने गरेको उनको भनाई थियो । उनीहरूलाई अगाडी ल्याउन नगरपालिकाले के कस्ता कार्यक्रम तथा नीतिहरू लागु गरेको छ भनेर उनको प्रश्न रहेको थियो ।

दान बहादुर विकले लैङ्गिक हिंसा निवारण कोष २०७८ कार्यविधि बने पनि यसको कार्यान्वयन किन हुन नसकेको भनेर प्रश्न गरेका थिए ।

कार्यक्रममा सहभागी अम्बिका ताम्राकारले नगरपालिकाले बनाएका ४२ वटा कानुनहरू कार्यान्वयन हुन नसक्नुका कारणहरू के हुन भनेर प्रश्न गरेको थियो । साथै उनले पिछडिएको वर्गलाई अगाडी बढाउन के कसरी काम गरिरहेको भन्ने समेत प्रश्न रहेको थियो ।

निर्मला राजीले नगरपालिका बाट पाउने सेवा सुविधा तथा कार्यक्रममा सहभागी हुने अवसर बाट राजी समुदायलाई किन पछाडि पारिएको उनको प्रश्न रहेको थियो ।

गोपाल बहादुर विकले प्रदूषण रहित नगरपालिका बनाउन पालिकाले के कसरी काम गरिरहेको छ र फोहोर व्यवस्थापन गर्न कहाँ निर नगरपालिका चुकेको हो भनेर प्रश्न गरेको थियो ।

सहभागीहरूको प्रश्नहरूको जबाफ नगर प्रमुख, शिक्षा शाखाका उप–सचिव, कार्यपालिका सदस्य तथा महिला बालबालिका शाखाका प्रमुखहरूले जबाफ दिनु भएको थियो ।

महिला बालबालिका शाखाका प्रमुख भावना जोशीले महिला, दलित, अल्पसङ्ख्यक समुदायको क्षेत्रमा काम गरिरहेको बताउनु भयो । लैगिङ्क हिंसा निवारण कोष बाट पनि जिविको पार्जनको लागी सहयोग गर्दे आएको उनले बताउनु भयो । महिला बालबालिका शाखाका आएकाहरूलाई शाखाले दिने सेवा सुविधाहरू प्रदान गर्दे आएको उनको धारणा रहेको थियो ।

त्यसै कार्यपालिका सदस्य मदन नेपालीले दलित सशक्तीकरणका कार्यक्रमहरू स्थानीय सरकारले सञ्चालन गरिरहेको उनको भनाई थियो । दलितहरूको सवालहरूमा आफूले काम गरिरहेको उनको धारणा रहेको थियो । दलित समुदायको चेतना माथी ल्याउन विभिन्न कार्यक्रमहरू सञ्चालन र उनिहरुको पेसाहरूलाई संरक्षण तथा प्रवर्धन गर्ने कामहरू भएको उनले बताउनु भयो ।

कार्यक्रममा शिक्षा शाखाका उप–सचिव हरिष पन्तले कार्यविधिहरू, कानुनहरू, संविधान, सघिंय कानुनहरू बमोजिम समावेशीकरण र सशक्तीकरणका मार्फत कामहरू गर्दे आएको उनले बताउनु भयो । उचित फोहर मैला व्यवस्थापनको लागी डिपिआर बनिसकेको बताउनु भयो । मानव अधिकार र अन्य हिसाबले सेवा सुविधा दिन आफूहरू लागी परेको उनको भनाई थियो ।

गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेलले महिला, दलित, अल्पसङ्ख्यक र वातावरणको क्षेत्रमा पालिकाले काम गरिरहेको बताउनु भयो । सबै सँगको समन्वय र सहयोगमा कामहरू अगाडी बढाएको बताउनु भयो । बजेट निमार्ण गर्दा सके सम्म सबैको प्रतिनिधित्व हुने गरेको उनको भनाई थियो ।

महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई सिप मूलक कार्यक्रमहरू सञ्चालन गरी उनिहरुको आर्य आर्जनमा टेवा पुर्‍याउने खालका कार्यक्रमहरू गरेको नगर प्रमुख देवीदत्त कँडेलको भनाई थियो ।मानव अधिकार र सुशासनलाई पारदर्शिता, जबाफदेहिता र सहभागितामूलक बनाउन जनप्रतिनिधि र नागरिकबिच सामूहिक अनुगमन, मूल्याङ्कन र सहकार्यको खाँचो रहेको उनले बताउनु भयो ।

Source: https://www.kailalikhabar.com/news/11899