महिला सशक्तीकरणका लागि कविता वाचन
द नेपालिज डटकम । २०८१ फागुन २४ गते
विराटनगर– ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा शनिबार महिला अधिकार, समानता र सशक्तीकरणका लागि कविता वाचन गरिएको छ । साहित्यकारहरूसँगै अधिकारकर्मीहरूले समाज, जीवन र समसामयिक सन्दर्भहरू समेटिएका कविता वाचन गरेका हुन् । अनौपचारिक सेवा केन्द्र(इन्सेक) र ओरेक कोशी प्रदेशले आयोजना गरेको कविता वाचन कार्यक्रममा अधिकारकर्मीसँगै स्रष्टाहरूलाई एउटै मञ्चमा उभ्याएर महिलाको सामाजिक पाटो साहित्यमार्फत खोतल्ने प्रयत्न गरेका छन् ।
साहित्यका माध्यमले दृष्टिकोणलाई फरक मोडमा पुर्याउन र साहित्यकारको योगदानबाट अभियानलाई सशक्त बनाउन कविता वाचन कार्यक्रम राखिएको आयोजक इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले बताए । सबै महिला तथा बालबालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण” नाराका साथ मनाइएको कार्यक्रममा खेम नेपाली, रोहिणी रसिक, भवानीप्रसाद पोखरेल, हरी कट्टेल, प्रयाग न्यौपाने, शुभलक्ष्मी लम्साल, शोभा बजगाई, पुष्पा सायरा, मञ्जु घिमिरे दाहाल, शारदा कार्की, सुजाता राई, ऋषि तिवारी, भुपाल अधिकारी, निर्मला नेपाल, नानुमैया दाहाल, गीता पोखरेल, ब्युटी श्रेष्ठ, रिता खडकालगायतले कविता वाचन गरेका हुन् ।
महिलालाई प्रकृति विम्ब बनाएर लेखिएका गद्य र पद्य कविताहरूले धेरै श्रोताहरूको मन छोएका थिए । सबैले महिला हिंसा, वेथिती, विभेद र असमानताविरुद्ध लेखेका कविता वाचन गरेका थिए । कविताहरूमा नारी अस्तित्वको पहिचान, अवसर, पहुँच र हैसियतको प्रयोगमा बराबरीको हिस्सा दिने भाव मुखरित थियो । पुरुषवादी सोचका कारण महिला जानी–नजानी हिंसामा पर्नुपरेको चित्रण गर्दै कविहरूले आमा, दिदी, बहिनी असुरक्षित भइरहेकोमा चिन्ता प्रकट गरेका थिए ।
कवितामा महिलालाई गर्ने प्रेम र सद्भावको अनुभूति पनि छरिएको थियो भने केही कवितामा विरताको प्रतिक महिला तथा महिलाको पीडामा पुरुष पनि संवेदनशील भएको भाव पस्केका थिए ।
Source: https://thenepalese.com/news/110102-250308205142/detail
HUMAN RIGHTS NEWS PORTAL






