भारतको अहमदावादबाट ६ दिनमा पैदल यात्रा गरि धनुषाको जटही नाकामा आएर जेठ १४ गते खान नपाएर र स्वास्थ्य उपचार गराउन नपाएर शहिदनगरपालिका बस्ने ३० वर्षीय विरेन्द्र यादव र सप्तरीको कञ्चनरुप नपा–५ पथरीको रामपुर बस्ने मलर सदाको मृत्यु भएको घटनाप्रति धनुषाका मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरुको ध्यानाकर्षण भएको छ ।
इन्सेक प्रदेश २ कार्यालय, एडभोकेसी फोरम प्रदेश २, मानवअधिकार रक्षक संजाल प्रदेश २ कार्यालय, ओरेक नेपाल, नेपाल मानवअधिकार संगठन धनुषा, सेफ नेपाल, निलहिरा समाज धनुषा, नेपाल राष्ट्रिय दलित कल्याण समाज धनुषा, महिला मानवअधिकार रक्षक संजाल धनुषा, नागरिक संवाद केन्द्रलगायतको मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरुले जारी गरेको विज्ञप्तिमा राज्यको सेवा सुविधाबाट सर्वसाधारण जनता लाभान्वित हुनुपर्ने माग गरेका छन् ।
हाल कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलि रहेको समयमा जनताले समयमै एम्बुलेन्स सेवा समेत पाउन नसक्नु दुखद भएकाले गर्दा गरिव, असहाय, बेरोजगारहरुलाई खाद्य सामाग्रीहरुको उचित राहत प्रदान गरि विरामीहरुको स्वास्थ्य उपचारका गराउन पाउने नागरिकको राज्यबाट संविधान तहत प्रदत धारा ३५ को आधारभुत सेवा निःशुल्क रुपमा उपलब्ध गराउनुपर्नेमा माग गरेका छन् ।
प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जिवन जोखिममा पार्ने अवस्थाबाट सुरक्षित हुने हक संविधानको धारा ३६ मा उल्लेख भएबमोजिम सरकारले राहत वितरणमा गरेको भेदभावपूर्ण व्यवहारलाई सुधार गरि पुनः राहत वितरण गर्न माग गरेका छन् ।
लकडाउनको अवधिमा भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको लागि क्वारेन्टानमा पोषणयुक्त खाना, पानी र सुत्ने व्यवस्था सन्तोषजनक नभएको भन्दै यसप्रति सचेत हुन सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएको छ । क्वारेन्टाइनमा महिला र पुरुषहरुको लागि शौचालय, नुहाउने तथा सुत्ने व्यवस्था राम्रो नभएकाले गर्दा सुधार गर्न आग्रह समेत गरेका छन् ।