मानवअधिकार उल्लंघन र ज्यादती बढेः इन्सेक
२०१९ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ६ हजार ६ सय ४२ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२०’ मार्फत यो तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेकका अनुसार सन् २०१९ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ६ हजार ६ सय ४२ जना पीडित भए भने सन् २०१८ मा यस्ता घटनाबाट ५ हजार १ सय १० जना पीडित भएका थिए ।
सन् २०१९ मा मानव अधिकार उल्लंघनका घटनामा ६८ जना महिला र ८ सय ६२ पुरुष गरी जम्मा ९ सय ३० जना तथा ज्यादतीका घटनामा ५ हजार ५८ जना महिला र ६ सय ५४ जना पुरुष गरी जम्मा ५ हजार ७ सय १२ जना पीडित भएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।
‘यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई जना, सप्तरीमा एक जना, सर्लाहीमा दुई जना, रुपन्देहीमा एक जना र कपिलवस्तुमा एक जना गरी सात जनाको मृत्यु भएको इन्सेकले प्रकाशन गरेको वर्ष पुस्तकमा उल्लेख छ ।
यो वर्ष यातनाका घटनामा १३ जना, गिरफ्तारीका घटनामा ७ सय २ जना, जातीय विभेदका घटनामा ६२ जना, अमानवीय व्यवहारका घटनामा ४० जना, भेला तथा सङ्गठित हुने अधिकारमा ९६ जना र धम्कीका घटनामा ३५ जना र कुटपिटका घटनामा २ सय ७७ जना पीडित भएको इन्सेकले जनाएको छ ।