मानव अधिकार उल्लंघनका सर्वाधिक घटना मधेश प्रदेशमा : इन्सेक
थाहा खबर डटकम । २०७९ फागुन ७ गते
जनकपुरधाम : मानव अधिकार उल्लंघन तथा ज्यादतीका सबैभन्दा बढी घटना मधेश प्रदेशमा भएको तथ्यांक सार्वजनिक भएको छ। सन् २०२२ मा मधेश प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ६६८ जना पीडित भएका छन्। सन् २०२१ मा ७५८ जना पीडित भएका थिए। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार जनकपुरधाममा सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सातवटै प्रदेशमध्ये सबैभन्दा बढी मानव अधिकार उल्लंघनका घटना मधेश प्रदेशमा भएको तथ्यांक समेटिएको छ। सन् २०२२ मा राज्य पक्षबाट भएका मानव अधिकार उल्लंघन घटनामा ४१ जना र अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ६२७ जना पीडित भएको इन्सेकले उल्लेख गरेको छ। मधेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा सबैभन्दा बढी व्यक्तिको हत्या भएको पुस्तकमा उल्लेख छ। कार्यक्रममा इन्सेक मधेश प्रदेशका अध्यक्ष राजु पासवानले महिला र बालिका बढी पीडित हुने गरेको बताए। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले तथ्यांक सही ढंगले संकलन गरी इन्सेकको प्रतिवेदनलाई थप विश्वसनीय बनाउनुपर्ने बताए। सन् २०२२ मा परिवारजनबाटै सप्तरीमा ३, सिरहामा ४, धनुषामा ५, महोत्तरीमा ३, सर्लाहीमा २, रौतहटमा २, बारामा ३ र पर्सामा २ गरी २४ महिलाको हत्या भएको छ।
दाइजोका कारण महोत्तरीमा एक र रौतहटमा एक गरी २ महिलाको यस अवधिमा हत्या भएको छ। सन् २०२२ मा बलात्कार घटनामा २ सय २९ जना पीडित भएको इन्सेकले जनाएको छ। यस अवधिमा कुटपिटका घटनामा राज्य पक्षबाट १ पुरुष, यातनाका घटनामा १ महिला, घाइतेमा ९ पुरुष, नागरिक तथा राजनीतिक अधिकारमा २५ पुरुष र धम्कीका घटनामा एक जना पुरुष पीडित भएका छन्। अमानवीय व्यवहारका घटनामा अन्य पक्षबाट १, अपहरण घटनामा ११ महिला र ४ पुरुष, घाइतेमा ४ महिला र १९ पुरुष, जातीय छुवाछुतका घटनामा १ महिला र १ पुरुष पीडित भएका छन्। सन् २०२२ मा अभिलेखन भएअनुसार बालअधिकारका घटनामा १ सय ९६ बालिका र १४ बालक पीडित भएका छन्। यसमध्ये बाल विवाहका घटना २, बालिका बेचबिखन शारीरिक दण्ड सजायमा १ बालिका, नवजात शिशुको हत्या १ बालक, बलात्कार घटनामा १ सय ६२, यौन दुर्व्यवहारका घटनामा २७ बालिका र ४ जना बालक पीडित भए। सन् २०२२ मा महिला अधिकारका घटनामा २ सय १० जना पीडित भए। यसमध्ये महिला बेचबिखन प्रयासका घटनामा १, घरेलु हिंसाका घटनामा २०, बोक्सीको आरोपमा १२, बहुविवाह घटनामा ७७, बलात्कार घटनामा ६७, बलात्कार प्रयास घटनामा २७, यौन दुर्व्यवहारका घटनामा ४ र महिला बेचबिखनका घटनामा २ जना पीडित भएका छन्। कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासलगायत सहभागी थिए।