मानव अधिकार उल्लंघन हुनेमा लुम्बिनी प्रदेश दोस्रो
मिसन टुडेन्यूज डटकम । २०८१ फागुन ८ गते
नेपालगञ्ज । शारीरिक हिंसामा प्रतिबिम्वित हुने मानव अधिकार उल्लंघनका घटनामा लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको अध्ययनले मानव अधिकार उल्लंघन सूचकांक र सन् २०२४ मा भएका मानव अधिकार उल्लंघनका घटना दुवैका आधारमा लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको देखाएको छ ।
इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तक २०२५ का अनुसार मानव अधिकार उल्लंघन सूचकांकका आधारमा बागमति प्रदेश सबैभन्दा धेरै मानव अधिकार उल्लंघन हुने प्रदेश रहेको छ भने गत वर्ष भएका मानव अधिकार उल्लंघनका घटनामा पीडितको सङ्ख्याका आधारमा मधेश प्रदेश पहिलो स्थानमा छ ।
लुम्बिनी प्रदेशको मानव अधिकार उल्लंघन सूचकांक सन् २०२३ भन्दा २०२४ मा झन् बढेको छ । सन् २०२३ मा ३५ दशमलव १६ रहेको सूचकांक २०२४ मा बढेर ४१ दशमलव ८६ पुगेको छ । यसैगरी सबैभन्दा बढी सूचकांक रहेको बागमति प्रदेशमा ६३ दशमलव ९३ बाट बढेर सूचकांक ६६ दशमलव १८ पुगेको छ ।
२०२४ मा भएका उल्लंघनका घटनाका आधारमा पनि मधेश प्रदेशपछि लुम्बिनी प्रदेश रहेको छ । मधेश प्रदेशमा दुई हजार तीन सय ४० जना मानव अधिकार उल्लंघनबाट पीडत भएकोमा लुम्बिनी प्रदेशमा दुई हजार दुई सय ७१ जना पीडित भएको तथ्यांक इन्सेकले संकलन गरेको छ । लुम्बिनी प्रदेशमा ३१ जना राज्य पक्षबाट भएका मानव अधिकार उल्लंघनका घटनाबाट पीडित भएका छन् ।
लुम्बिनी प्रदेशमा भएका मानव अधिकार उल्लंघनका घटनाबाट एक हजार सात सय ९१ जना महिला रहेका छन् भने तीन सय ३३ जना बालबालिका पीडित भएका छन् भने ३८ जनाको हत्या भएको छ । यसैगरी, ३४ जना अमानवीय व्यवहारका घटनाबाट पीडित भएका छन् भने ३२ जना घाइते भएका, १२ जना धम्कीबाट पीडित भएको र १७ जनामाथि कुटपिट भएको र ७ जनाको अपहरण भएको पाइएको छ ।
महिला र बालबालिका सबैभन्दा धेरै पीडित
शारीरिक हिंसामा प्रतिबिम्वित हुने मानव अधिकार उल्लंघनका घटनाबाट लुम्बिनी प्रदेशमा महिला र बालबालिका सबैभन्दा धेरै पीडित भएका पाइएको छ । कुल पीडितमध्ये एक हजार सात सय ९१ जना महिला रहेका छन् भने तीन सय ३३ जना बालबालिका रहेका छन् ।
तीन सय ३३ जना बालबालिकामध्ये पाँच जनाबाहेक सबै बालिका रहेका रहेका छन् । दुई जना बालिका त राज्यपक्षबाटै बलात्कार पीडित भएका छन् । सशस्त्र प्रहरीमा कार्यरत व्यक्तिहरूबाटै ती बालिकाहरू पीडित भएका पाइएको पुस्तकमा उल्लेख छ ।
बालअधिकार उल्लंघनका घटनामा सबैभन्दा बढी दुई सय १५ जना बालिकाहरू बलात्कारबाट पीडित भएका छन् । जसमध्ये २० जना बालिकाहरू त सामूहिक बलात्कारमा परेका छन् । ७६ जना बालबालिका यौन दुव्र्यवहारमा परेका छन् भने १० जना हाडनाता करणी, १४ जना बालविवाह, १२ जना बालबालिका बेचबिखन र चार जना विद्यालयमा दिइने शारीरिक यातनाबाट पीडित भएका छन् ।
महिला मानव अधिकार उल्लंघनका घटनाबाट एक हजार पाँच सय ८४ जना घरेलु हिंसाबाट पीडित भएका छन् भने एक सय ५१ जना बलात्कारबाट पीडित भएका छन् । तीमध्ये ११ जना सामूहिक बलात्कारमा परेका छन् । यसैगरी, तीन जना हाडनाता करणी र एक जना वैवाहिक बलात्कारमा परेका पाइएको तथ्यांकमा उल्लेख छ ।
बलात्कारसम्बन्धि घटनामा पछिल्लो समय कम उमेरका बालबालिका पनि पीडकका रूपमा देखिन थालेका महतले बताएका छन् । एकजना १० वर्षका बालक पनि बलात्कारसम्बन्धि पीडक रहेका पाइएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए ।