








नेपाल कलम डटकम । २०८० साउन २० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम समापन भएको छ । जिल्लाको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका–१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार, महिला अधिकार तथा क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम १९ साउन शुक्रबारबाट सुरु भएको थियो । जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलाले मानव अधिकारको बारेमा आफ्नो अनुभव बताए । उनले दोधार भएका कुराहरु बारे स्पष्ट हुनुपर्ने र तालिममा सिकेका कुराहरुलाई पनि सिकाउन आग्रह समेत गरेका छन् । तालिम प्राप्तिपछि कार्यन्वयनका लागि स्थानीय तहमा गएर समूहमा थप छलफल गर्नुपर्ने, आयआर्जनका लागि केही वस्तु र सामग्री मागेर नभई सीप र ज्ञान तथा प्रविधिको विकास र प्रयोग गर्न सके दिगो रुपमा र स्थायित्व कायम हुने निरौलाले उल्लेख गरे । तालिममा इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीले लैगिंक समानताको मध्यनजर गर्दै सबै कार्यक्रममा महिलाको पनि सहभागिता हुन जरुरी रहेको बताए । अवसर र पहुँचको अभावका कारण अझै पनि महिला, दलित र विपन्न वर्ग अधिकारको पहुँचबाट पिछडिएको महासचिव डा. अधिकारीले सुनाए । बञ्चित रहेका वर्गहरुलाई विकासको मूल प्रवाहिकरणसँगै मानव अधिकार मैत्री विकास हुनुपर्नेमा जोड दिए । आर्थिक उन्नयन बिना मानव अधिकार प्राप्त हुन नसक्ने हुँदा सचेतना शिक्षाका लागि यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने उनको भनाई छ ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले नागरिक अधिकार र राजनीतिक अधिकारको साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विकासमा सचेत रहनुपर्नेमा जोड दिए । मानव अधिकारको विकासमा सबै जनता बलियो भयो भने स्थानीय सरकार पनि बलियो हुने उनको भनाइ छ । मानव अधिकार अराजकता होइन, यसमा अधिकार सँगै कर्तव्य पनि निर्वाह रहेने उनले बताए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष नरनाथ सुवेदीले इन्सेकद्वारा सञ्चालित कार्यक्रमहरुको उपलब्धी, सिकाई, चुनौती र दिगोपनका विषय निकै महत्वपूर्ण रहेको बताए । मानव अधिकार उल्लंघनको विषय सबैले वडा कार्यालयमा जानकारी गराएमा यसको कानुन बनाउन र कार्यन्वयन गर्न सजिलो हुने सुवेदीको भनाई छ । मनहरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रकाश थापाले मानव अधिकारको कुरामा सबैले जानकारी लिनु उपयुक्त रहेको बताए । अधिकारको साथसाथै शिक्षा, स्वास्थ्य र सामाजिक कुरामा पनि ध्यान दिनुपर्नेमा उनले बताए । हरेक तालिममा महिलाको साथसाथै पुरुषलाई पनि सहभागी गराउन सकेमा दुवैले समान रुपमा मानव अधिकार बारे बुझ्न पाउने उनको आग्रह थियो । मनहरी–१ का वडाध्यक्ष शिवप्रसाद खनालले हरेक कुरामा अगाडि बढ्न आफैमा सक्षम बन्न जरुरी रहेको बताए । महिला अधिकारको तालिममा पुरुषलाई पनि सहभागी गराउनु पर्नेमा खनालले जोड दिएका छन् ।
तालिममा इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालित स्थानीय तहमा मानव अधिकारलाई सुदृढ बनाउनको लागि मानव अधिकार समूहमार्फत सचेतना कार्यक्रम, जनप्रतिनधिहरुका लागि मानव अधिकार र महिला अधिकारबारे क्षमता अभिवृद्धि कार्यक्रम र स्थानीय सरोकारहरुसँग शिक्षा, स्वास्थ्य, खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमहरु गरी समुन्नत समाज निर्माणमा पैरवी गरिरहेको बताए । डब्लुपिडिकी फिल्ड सुपरभाइजर तिल कुमारी हुमागाँइले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण गर्नको लागि महिला र पुरुष दुवै समन्वय र सहकार्य गर्दै महिलाहरुलाई आयआर्जनमूलक कार्यमा आफै आत्मनिर्भर हुनुपर्ने बताएकी छन् । इन्सेकका बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार समूहका सदस्यलाई दिइएको यस तालिमले स्थानीय स्तरमा हुने मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको पहिचान गर्न सहज हुने बताए । यस्तै, स्थानीय पालिका मानव अधिकारमैत्री बन्नुपर्नेमा उनले जोड दिए । संयोजक भण्डारीले वडामा आय आर्जनमा आवद्ध महिला समूहलाई मानव अधिकार महिला अधिकार घरेलु हिंसाको पहिचान न्याय प्रक्रियामा पहुँच र नेतृत्व विकासको पाटोमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताए ।
Source: https://samriddhasamaj.com/archives/50880