मानव अधिकार रक्षक वलियो र सक्रिय हुँदा राज्य निकायलाई खबरदारी प्रभावकारी हुने

एभरेष्ट आवाज डटकम । २०८२ जेठ ९ गते

गोरखा । मानव अधिकार रक्षकहरू वलियो र सक्रिय हुँदा राज्यका निकायप्रति खबरदारी प्रभावकारी हुने निष्कर्ष एक कार्यक्रममा प्रस्तुत भएको छ।

गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन महाशाखाको आर्थिक सहयोगमा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा गोरखामा आयोजित “मानव अधिकार रक्षकहरूको क्षमता विकास कार्यक्रम”मा विभिन्न वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष हरि देवकोटाले संविधानमा सुनिश्चित गरिएका अधिकारहरू कार्यान्वयनमा अझै कमजोर रहेको बताए। उनले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारहरूलाई पनि समान महत्वका साथ उठाउनु पर्ने आवश्यकता औंल्याए।

पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकालले मानव अधिकार रक्षकहरू राज्यका विरोधी नभई जनताको पक्षमा रहने बताएका थिए। उनले पछिल्लो समय पत्रकारिता पेशामाथि लाञ्छना लगाउने प्रवृत्ति बढ्दो रहेको जनाउँदै फिल्डमा खटिएका पत्रकारहरूलाई सूचना नदिने वा तोडमोड गरेर दिने जस्ता घटनाहरू बढेको बताए।

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पमौडेलले मानव अधिकार रक्षकहरूको सुरक्षाप्रति राज्य प्रतिबद्ध रहेको जनाए। गोरखालाई मानव अधिकारका दृष्टिकोणले नमुना जिल्ला बनाउन आफू तयार रहेको उनले बताए।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापाले मानव अधिकारका विषयहरू गाउँसम्म पुर्‍याएर अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

गण्डकी प्रदेश सरकारको कानुन महाशाखाका उपसचिव सुरण प्रसाद शर्माले प्रदेशको नीति तथा बजेटमा मानव अधिकारका विषय समावेश गरेर कार्यक्रमहरू संचालन गरिएको जानकारी दिए। उनले राष्ट्रिय मानव अधिकार आयोगको छैठौँ कार्ययोजनाअनुसार प्रत्येक जिल्लामा मानव अधिकारका विषयहरू विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गरे।

कार्यक्रममा पत्रकार, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण इन्सेक गण्डकी प्रमुख शिव खकुरेल र मानव अधिकार आयोग गण्डकीका सहसचिव नीतु गतौलाले गरेका थिए।

Source: https://everestawaj.com/2025/05/22/108666/