मानव अधिकार समूहले गर्दा स्वास्थ्य संस्थामा निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण टाँसियो
कैलाली खबर डटकम । २०८२ वैशाख ८ गते
सुखड । कैलालीको घोडाघोडी नगरपालिकाकाले स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण टाँसेको छ । स्वास्थ्य संस्थाहरूको कार्यालयमा सेवाग्राहीहरूले देखिने गरी निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण टाँसेको हो । पालिका भरीका एक नगर अस्पताल,तिन वटा स्वास्थ्य चौकी र नौ वटा आधारभूत स्वास्थ्य केन्द्रमा औषधी सहितको वितरण टाँसेको छ ।
गत पुस १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित घोडाघोडी नगरपालिका स्तरीय मानव अधिकार समूहले नगर प्रमुख खडक बहादुर रावतलाई अविलम्ब स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ९८ प्रकारका औषधी र सेवाहरूको सूचि नटाँसिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझाएको केही महिना पछि स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ९८ प्रकारका औषधीको विवरण टाँसिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्ने क्रममा नगर प्रमुख रावतले समस्याहरू समाधानको लागी नगरपालिका एक दमै तत्पर रहेको बताएका थिए । समस्याहरू क्रमशः समाधान हुने समूहलाई उनले विश्वास समेत दिलाएका थिए । नेपालीमा अक्षरमा लेखिएको निःशुल्क पाइने ९८ प्रकारका औषधी र सेवाहरूको सूचि टाँसिए पछि सेवाग्राहीलाई राहत भएको छ ।
मानव अधिकार समूहले आम सेवाग्राहीलाई सहज र सजिलोका लागी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ९८ प्रकारका औषधी र सेवाहरूको सूचि अविलम्ब टाँस्न अनुरोध गरेको थियो । घोडाघोडी नगरपालिका स्तरीय मानव अधिकार समूहले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक हिंसा/जातीय छुवाछुत सम्बन्धीका समस्याहरू समाधानको लागी पैरवी गर्दे आएको छ । विगत केही वर्ष देखी मानव अधिकार रक्षा तथा पैरवीमा समूहले मानिसको शिक्षा, स्वास्थ्य वातावरणको अधिकारको सवालमा जिम्मेवार निकायलाई जबाफदेही बनाउन लागी परेको छ ।
Source: https://shorturl.at/XBRHe
HUMAN RIGHTS NEWS PORTAL






