मानव अधिकार समूहले घोडाघोडीका नगर प्रमुख रावतलाई बुझायो ध्यानाकर्षण पत्र

कैलाली खबर डटकम । २०८१ पुस १४ गते

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतलाई नगर स्तरीय मानव अधिकार समूहले ध्यानाकर्षण पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित घोडाघोडी नगरपालिका स्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक हिंसा/जातीय छुवाछुत सम्बन्धीका समस्याहरू समाधानको लागी ध्यानाकर्षण पत्र बुझाएको हो ।

बुझाएको ध्यानाकर्षण पत्र विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी र भौतिक पूर्वाधार हुनु पर्ने, समयमा शिक्षण कार्य पुरा गर्नु पर्ने,अनिवार्य रुपमा निःशुल्क शिक्षा हुनु पर्ने, स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने, स्वास्थ्य संस्थाहरूमा नागरिक वडा पत्र र सरकारले निःशुल्क रुपमा दिने ९८ प्रकारका औषधीहरूको नामावली राख्नु पर्ने भनिएको छ ।

त्यसका साथै बिरामी सङ्ख्याको अनुपातमा डाक्टर र भौतिक पूर्वाधार बढाउनु पर्ने,थारु समुदायमा देखिने सिकलसेल  एमोनिया रोगको न्यूनीकरणको लागी पहल गर्नु पर्ने,फोहोर मैलाको उचित व्यवस्थापन गर्नु पर्ने,छाडा चौपायाको उचित व्यवस्थापन गर्नु पर्ने, जथाभाबी वन जङ्गल कटानी र नदी जन्य उत्खननलाई न्यूनीकरण गर्नु पर्ने,छाउपडी प्रथाको पूर्ण रुपमा अन्त्य गर्ने नीति ल्याउनु पर्ने,घरेलु हिंसा नियन्त्रण गर्ने नीति ल्याउनु पर्ने, लागु पदार्थ दुर्व्यसन न्यूनीकरणको लागी सचेतना मूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने र जातीय छुवाछुत विभेदको अन्त्यका लागी पहल गर्नु पर्ने बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।

मानव अधिकारका आधारभूत आवश्यकताहरू पूर्ति गराउने उद्देश्यले स्थानीय समस्याहरू पहिचान गरी सम्बोधनको लागी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको समूहले जनाएको छ । नगरपालिकाले समस्याहरू समाधानको लागी केही पहल गरेको देखिएता पनि अझैँ पनि समस्याहरू पूर्ण रुपमा समाधान हुन नसकेकाले समस्या समाधानको लागी स्थानीय पालिकालाई पुनः स्मरण स्वरूप ध्यानाकर्षण पत्र पेस गरीएको समूहका कार्यवाहक अध्यक्ष आशा परियाले बताउनुभयो ।

बुझाएका सवाल तथा समस्याहरू समाधानको लागी पहल गरिदिन नगरपालिकालाई मानव अधिकार समूहले आग्रह समेत गरेको छ । उक्त ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख रावतले ध्यानाकर्षण पत्र बुझाएकोमा समूहलाई धन्यावाद दिनुभयो । समस्याहरू समाधानको लागी नगरपालिका एक दमै तत्पर रहेको उनको भनाई थियो । समस्याहरू क्रमशः समाधान हुने उनले समूहलाई विश्वास दिलाउनुभयो ।

Source: https://www.kailalikhabar.com/news/12189