मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक सम्बन्धी छलफल कार्यक्रम धनगढीमा सम्पन्न

कैलाली खबर । २०८२ असार १० गते

धनगढी । कैलालीको धनगढीमा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक  क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम भएको हो ।

इन्सेक प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्षमा आएको निवेदनमा छलफल गरी वास्तविक पीडितलाई कानुनी  प्रक्रियामा जानका लागि आवश्यक प्रकृया तथा कागजात पुरा गरी आउने पीडितलाई आर्थिक सहयोग गर्दै आइरहेको भएता पनि वास्तविक पीडित अझै पनि बाहिर आउन नसकेको अवस्थाको घटनालाई बाहिर ल्याएर न्यायिक प्रक्रियामा सहयोग गर्नु पर्ने बताउनु भयो ।

गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा मानव अधिकार सहायता कक्षका संयोजक देवीप्रसाद खनालले मानव अधिकार सहायता कक्ष मार्फत ५ महिनाको अवधिमा १२ जना लैङ्गिक तथा यौन हिंसामा परेका तर आर्थिक समस्यामा परेका पीडितलाई न्यायिक प्रक्रियामा सहयोग गरी सकेको र दुई जनालाई सहयोग गर्ने प्रक्रियामा रहेको बताउनु भयो ।

दलित महिला  अधिकार मञ्चकी कार्यक्रम संयोजक सृजना पराजुलीले भजनी नगरपालिकामा बौद्धिक अपाङ्गता भएकी महिलालाई दिनहुँ बलात्कार हुँदै गरेको घटना बाहिर आउन नसकेकाले त्यस्ता घटनाको अनुगमन गरी पीडितको उद्धार गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी संयोजक  वेद अवस्थीले समुदाय स्तरमा घरेलु र यौन हिंसा पीडित मात्र नभएर अन्य घटनाका पीडितहरू पनि आर्थिक समस्यामा परेकाले छोराछोरी पढाउन नसक्ने अवस्थामा रहेको बताउनु भयो ।

Source: https://www.kailalikhabar.com/detail/12701

Source: https://pahura.com/2025/06/41496/