मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस : रामेछापमा सचेतनामूलक कार्यक्रम
सनराइज खबर डटकम । २०८० भदौ १९ गते
रामेछाप । मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा मंगलबार रामेछापका विभिन्न विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको आयोजनमा विद्यालयहरूमा मानव बेचबिखन तथा लागु औषध विरुद्धका सचेतना कक्षा सञ्चालन गरिएको हो । समितिका सदस्य तथा विज्ञलाई विभिन्न विद्यालयमा सहजकर्ताको रूपमा पठाएर सचेतना कक्षाका साथै अन्तरक्रिया सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो । जस अनुसार सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालालाई लिटिलस्टार इङ्लिस बोर्डिङ स्कुल, जिल्ला न्यायाधीवक्ता योगेन्द्रप्रसाद ढुङ्गेललाई तामाकोसी अङ्ग्रेजी आवासीय विद्यालय, प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीलाई मन्थली मावि, सशस्त्र प्रहरी नायव उपरीक्षक शेखर दवाडीलाई नागकन्या मावि, इन्सेकका प्रतिनिधि नवराज पथिकलाई भैरवी मावि सुनारपानी, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेललाई कर्कलादेवी आवासीय विद्यालयमा, रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँलाई रुद्राक्षेश्वर मावि मुगिटार, माइती नेपालका प्रतिनिधि हिमाल ढुङ्गेललाई गौरीशंकार मावि रामेछापमा सहजकर्ताको रूपमा खटाइएको थियो ।
निजामती सेवा दिवसको सन्दर्भलाई समेत जोडेर विद्यालयका विद्यार्थीलाई निजामती सेवाको बारेमा समेत अभिमुखीकरण गरिएको थियो । जस अनुसार मन्थली माविमा आयोजित कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँ, कर्कलादेवी आवासीय विद्यालयमा कोष नियन्त्रक लोकनाथ सुवेदी, नागकन्या माविमा थिरलाल गैह्रे, रुद्राक्षेश्वर माविमा मालपोत कार्यालय रामेछापका प्रमुख लीलानाथ दाहाल, भैरवी माविमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुबोधकुमार साह कर्मयोगी र गौरीशंकर माविमा कारागार कार्यालय रामेछापका प्रमुख रूपलाल तामाङले सहजीकरण गर्नुभएको थियो । सन् २००२ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को ११ औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासम्धी २००२ लाई वि.स.२०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन गरेको दिनको स्मरणमा नेपाल सरकारले २०६४ सालबाट हरेक वर्ष भदौ २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ । यस वर्ष सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूल भन्ने राष्ट्रिय नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सत्रौँ राष्ट्रिय दिवस मनाइँदै छ ।