मौलिक हकको कार्यान्वयनमा राज्य संवेदनशिल हुनुपर्छ : सभामुख तुलाराम घर्तीमगर
समयचक्र डटकम । २०८१ चैत २९ गते
बुटवल । प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन्। इन्सेक लुम्बिनी प्रदेशले चैत २८ गते बुटवलमा आयोजना गरेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकारको भूमिका विषयक कार्यशालामा बोल्दै सभामुख घर्तीले यस्तो कुरा बताएका हुन्।
सभामुख घर्तीले सबै नागरिकको संरक्षण गर्ने दायित्व राज्यको भएकोले संविधानले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयनका विषयमा राज्य संवेदनशिल हुनुपर्ने बताउँदै अरुको अधिकारको निम्ति काम गर्ने मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणका लागि मानव अधिकार रक्षक कानुन निर्माणका लागि प्रदेशको सभामुखको हैसियतले प्रदेश सरकारलाई निर्देशन दिने बताए।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षण गर्ने खालका कानुन निर्माणका लागि आफूहरूको ध्यान आर्कषण भएकोले प्रदेश सरकारसँग त्यस विषयमा बुझ्ने र कानुन निर्माणका लागि पहल गर्ने बताए। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षण सम्बनधी विधेयक छिटो भन्दा छिटो ल्याउनका लागि आफूहरू प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री रत्न खत्री, प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेशको गुप्ता, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरिप्रसाद ज्ञवाली, वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेल, पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, उच्च अदालत बार बुटवल इजलासका अध्यक्ष गोविन्द प्रसाद मरासिनी, राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारी, गैरसरकारी संस्था महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुशिला बेल्बासे लगायतले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि मानव अधिकार रक्षक कानुन महत्त्वपूर्ण रहेकोले प्रदेश सभाका सांसदहरूलाई संवेदनशिल हुन र मानव अधिकार रक्षक कानुन निर्माण महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरे।
कार्यक्रम इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतको अध्यक्षता जिल्ला प्रतिनिधि रिमा बिसीको सञ्चालनमा सम्पन्न भएको थियो।