रोमविधान पक्षराष्ट्र हुन सरकारको ध्यानाकर्षण

सौर्य अनलाइन डटकम । २०८१ साउन २ गते

मुगु । आज १७ जुलाइ संसारभर आजको दिनलाई अन्तराष्ट्रिय फौजदारी अदालत स्थापनाको लागि रोम विधान पारित गरिएको दिनको रुपमा स्मरण गर्दै संसारभर अन्तराष्ट्रिय न्याय दिवस मनाइने गरिन्छ ।

विभिन्न कालखण्ड युद्ध अपराध, आम नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरुलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्न संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९९८ जुलाई १७ मा रोम विधान पारित गरिएको थियो ।

हालसम्म रोम विधानको पक्षमा १२३ राष्ट्रले हस्ताक्षर गरेर यो विधानको पक्ष राष्ट्र भइसकेका छन भने दक्षिण एसियाका बंगलादेश, अफगानिस्तान, माल्दिप्सलगायत देश पनि रोमपक्ष राष्ट्र भइसकेका छन् । नेपाल रोमपक्ष राष्ट्र अझैसम्म नहुँदा यहाँ युद्ध अपराध, नरसंहार, मावतता विरुद्धका अपराधका घटनामा संलग्न व्यक्तिहरु खुलेआम देश तथा विदेशमा घुमिरहेका छन् ।

उनिहरुलाई अन्तराष्ट्रिय कानुन लगाई अदालतको कठघरामा उभ्याई पीडित परिवारलाई न्याय दिन नेपाल रोमपक्ष राष्ट्र बनाउन औपचारिक सेवा केन्द्र (इन्सेक) को अगुवाइमा नागरिक संस्थाहरुले बधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । ७७ वटै जिल्लामा नागरिक संस्थाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई जुलाई १७ को अवसर पारेर ज्ञापनपत्र बुझाइएको इन्सेक मुगुका प्रतिनिधि सर्जन कुमार शाहीले जानकारी दिए ।

‘पुनः स्थापित प्रतिनिधिसभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रुपमा संकल्प प्रस्ताव पारित गरेको तथ्य स्मरण गराउँदछौँ । साथै मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षाको क्रममा नेपालको विगतका समिक्षाहरुमा आएको सुझावहरु मध्य रोम विधान पारित गर्नको लागि धेरै राष्ट्रहरुले गरेको सुझावप्रति पनि ध्यानाकर्षण गर्न चाहन्छौँ,’ प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

यसैगरी तत्कालिन परराष्ट्रमन्त्री माननीय उपेन्द्र यादवले २०६५ साल माघ २९ गते रोम विधान तत्काल अनुमोदन गर्नुपर्ने एजेन्डा तत्कालिन सरकारको क्याविनेटमा प्रस्तुत गर्नुभएको तथ्य पनि अवगत नै छ । त्यसैले नेपाल सरकारको तर्फबाट अन्तराष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ ।’

मुगु जिल्लाबाट बुझाइएको ज्ञापनपत्रमा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, अधिवक्ता जिल्ला बार एशोसियन मुगुका अध्यक्ष कुवेरजंग शाही, महिला अधिकार केन्द्रकी अध्यक्ष सुकमाया शाही, नयाँ पत्रिकाका पत्रकार अच्युतराज भण्डारी, सगरमाथा टेलिभिजनका पत्रकार सनतकुमार हमाल र इन्सेक प्रतिनिधि सर्जनक कुमार शाहीले हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो ।

Source:  https://www.souryaonline.com/2024/07/604873.html

Source: https://shorturl.at/1dMrh

Source: https://shorturl.at/g6WNp