लकडाउनमा ५ सय बढी महिला तथा बालिका हिंसाबाट पीडित

 

बुटवल । विश्वमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सुरु भएको लकडाउनका ५४ दिनसम्म आइपुग्दा नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा ५ सय २ जना पीडित भएको इन्सेकले अभिलेख गरेको जनाएको छ । इन्सेकले देशका ७७ वटै जिल्लामा लकडाउनको सुरू दिन ०७६ चैत ११ गतेदेखि ०७७ जेठ ३ गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई जेठ ७ गते सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।

अभिलेख सार्वजनिक गर्दै लकडाउनको यो अवधिमा परिवारजनबाट २३ जना महिलाको हत्या भएका घटना अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अभिलेखगरेको जनाएको छ । त्यसैगरी सो अवधिमा घरेलु हिंसाका घटनाबाट २ सय ३९ जना पीडित भएको इन्सेकले जनाएको छ । यो अवधिमा बलात्कारका घटनामा ६४ जना महिलासहित १ सय ६९ जना, बलात्कार प्रयासका घटनामा २० जना महिला, यौन दुरव्यवहारका घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा अभिलेख छ । प्रतिवेदन भन्छ ‘यो अवधिमा सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ५४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २२ जना महिला तथा बालिका पीडित भए ।’ लकडाउनका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुनसक्ने इन्सेकले जनाएको छ ।

Source: https://www.globalaawaj.com/archives/37510?fbclid=IwAR1GwT_FfMrgW8GgLSNNFthdoHIB0AQPnS2eTxaAUQve4Z5uWgux4r9UfD8