लक्ष्मी माविमा स्वच्छ वातावरण र वातावरणको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलाली खबर डटकम । २०८१ पुस २५ गते

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–२ गोकुलपुर स्थित लक्ष्मी माध्यमिक विद्यालयको सभा हलमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको सहयोग, बेलौरी नगर स्तरीय मानव अधिकार समूहको समन्वय र वाल अधिकार चेतना समूह लक्ष्मी माध्यमिक विद्यालय गोकुलपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगपालिका वार्ड नं. २ का वडा अध्यक्ष कलवीर चौधरीले  बदलिँदो परिवेशमा नागरिकहरूले अधिकार सँगसँगै नागरिक कर्तव्य पनि पालना गर्नु पर्ने बताए । जलवायु अनुकूलन विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न, विकास, विनाश पछि बुद्धि आउने विषयलाई कम गर्न, वातावरण मैत्री संरचनामा स्थानीय सरकार एक्लैले प्रयत्न गर्न सम्भव नभएको बताए ।

कार्यक्रममा लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अनिल प्रसाद पाण्डेले विभिन्न उद्योगहरूबाट उत्सर्जन हुने फोहोर मैलाले वातावरणमा नकारात्मक प्रभाव पारिरहेको तथा ध्वनि प्रदूषण भइरहेको उनको भनाई थियो । स्वच्छ वातावरण र वातावरण अधिकारको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । 

बाल अधिकार चेतना समूहका अध्यक्ष हेमा कार्कीले टोल छिमेकमा प्राय दिनहुँ जसो हुने गरेका जन्मदिन मनाउने कार्यक्रमहरूमा ठुलो आवाजमा बजाइने गरेका डिजेहरूले बालबालिकाहरूको पढाइमा बाधा भइरहेको प्रति सरोकारवालाहरूको ध्यान आकर्षण गराउनु भयो । 

स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा लक्ष्मी माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक अनिल प्रसाद पाण्डेय, संरक्षक शिक्षक बुद्धि प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयका सहजकर्ता कैलाश पनेरुले राष्ट्रिय वातावरण नीति २०७६ प्रस्तुत गर्दै नीतिको कार्यान्वयनको अवस्थाका बारेमा सहजीकरण गरेका थिए ।

वातावरण संरक्षणका लागी सम्पूर्ण सरोकारवालाहरूले आआफ्नो तर्फबाट सहयोग र समन्वय गर्नु पर्ने उनको धारण रहेको थियो ।स्वच्छ वातावरण निर्माण महत्त्वपूर्ण विषय भएकोले राज्यको तीन वटै निकाय एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो । राज्यका निकायहरूबिच समन्वय नहुँदा स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने व्यक्तिको मौलिक अधिकार हनन भइरहेको पनेरुले बताए । 

Source: https://shorturl.at/2GVQR