लागु पदार्थ दुर्व्यसन,बाल विवाह र सामाजिक सञ्जाल सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन

कैलाली खबर डटकम । २०८१ फागुन ३ गते

सुखड। कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा लागु पदार्थ दुर्व्यसन,बाल विवाह र सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धीको जनचेतना मूलक सडक नाटक शुक्रबार  प्रदर्शन गरिएको छ । पालिकामा  रहेको महिला तथा बालबालिका शाखाको आयोजनामा भइरहेको बाल सरोकारका विषयहरू सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा जनचेतना मूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा कान्तिराज्य लक्ष्मी माध्यामिक विद्यालयमा गठन गरिएको बाल अधिकार चेतना समूहले नाटक प्रदर्शन गरिएको थियो । नाटकको माध्यमद्वारा बालबालिकाले असमान व्यवहार तथा विभेदले मानव जीवनमा पर्ने असरलाई चित्रण गरेको थियो । समाजमा हुने बालविवाह, लागु पदार्थ दुर्व्यसन र सामाजिक सञ्जालको दुरुपयोग गर्दा के कस्ता समस्या र दुख आइपर्छ भनेर नाटकको माध्यमबाट देखाइएको थियो । 

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इमो, टिकटकको दुरुपयोग गर्दा के–के हानी नोक्सानी हुन्छ र सही सदुपयोग गर्दा के–के फाइदा हुन्छ भन्ने बारेमा सन्देश दिएको थियो । त्यस्तै बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बाल विवाहका कानुनी सजाय लगायत र लागु पदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई कति असर गरिरहेको छ भन्ने दृश्यहरू नाटक मार्फत मञ्चन गरिएको थियो ।

लागु पदार्थ दुर्व्यसन,बाल विवाह र सामाजिक सञ्जालको दुरुपयोग रोकथाम गर्न सबै बालबालिका, अभिभावक, विद्यालय प्रशासन र विभिन्न सरकारवालाहरूको निकै ठुलो भूमिका हुने कुरा नाटकमा उल्लेख छ ।

सडक नाटक कार्यक्रममा विद्यार्थी र बाल अधिकार चेतना समूहका पदाधिकारी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Source: https://www.kailalikhabar.com/news/12298