लुम्बिनीका कारागारमा कोचाकोच कैदीबन्दी
सुनपानी डटकम । २०७९ फागुन ८ गते
नेपालगञ्ज– लुम्बिनी प्रदेशमा कारागारको क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी रहेका छन् । कैदीबन्दी कोचाकोचमा बस्नु परेको छ । लुम्बिनीका १२ जिल्लामध्ये ११ जिल्लामा कारागार छन् । रुकुमपूर्वमा कारागार छैन भने दाङमा दुई वटा गरी प्रदेशमा १२ वटा कारागार छन् । १२ वटा कारागारको क्षमता एक हजार ६ सय ८७ जना रहेको छ । त्यहाँ ४ हजार ४ सय ३ जना कैदीबन्दी बसेका छन् । रोल्पामा ५० जना क्षमताको कारागारमा एक सय २२ जना, प्यूठानमा २५ जना क्षमताको कारागारमा ७७ जना, गुल्मीमा २५ जना क्षमताको कारागारमा ८० जना, अर्घाखाँचीमा ४० जना क्षमताको कारागारमा ७२ जना, पाल्पामा ३ सय २५ क्षमताको कारागारमा २ सय ९५ जना कैदीबन्दी रहेका छन् । नवलपरासी पश्चिममा एक सय ७५ क्षमताको कारागारमा ५ सय ६९ जना, रुपन्देहीको एक सय ५० जनाको कारागारमा ४ सय ३७ जना, कपिलबस्तुको ३ सय ५२ जना क्षमताको कारागारमा ४ सय ७९ जना, दाङ घोराहीको एक सय १० क्षमताको कारागारमा ३ सय ८२ जना, दाङ तुलसीपुरको ३ सय १० जना क्षमताको कारागारमा ५ सय ७७ जना, बाँकेको ३ सय ५० क्षमताको कारागारमा ८ सय ३८ जना र बर्दियाको एक सय २५ जना क्षमताको कारागारमा ४ सय ७५ जना कैदीबन्दी बसेका छन् ।
बाँकेको ८० जना क्षमताको बाल सुधारगृह छ । त्यहाँ २ सय २७ जना राखिएको छ । इन्सेकले जनाए अनुसार, बाल सुधार गृहमा प्रहरीले नै लागु औषधी सप्लाई गर्छ । जसका कारण बाल सुधार गृहबाट बालकहरु भाग्ने घटना भइरहन्छन् । बाल सुधार गृह भने पनि यहाँ २९ वर्षसम्मका युवकलाई राखिएको छ । देशभरकै कारागारको अवस्था हेर्दा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् । नेपालमा १३ हजार ५ सय ६८ जना क्षमताको कारागार रहेका छन् । त्यसमा २७ हजार ४ सय र ७५ जना कैदीबन्दी रहेका छन् । इन्सेकले सार्वजनिक गरेको मानव अधिकार वर्षपुस्तकमा उल्लेखित तथ्यांक राखेको छ । प्रदेश संयोजक भोला महतले न्यायापालिकाले समयमा न्याय नदिएकाले समस्या थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न्यायापालिकाले समयमा न्याय दिन सकेन । मुद्दाहरु पनि रुची अनुसार अघि र पछि गर्दा कारागारमा समस्या बिकराल देखिएको छ । यसले कैदीबन्दीको जीवनमाथि असुरक्षा बढेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






