








सफल आवाज डटकम । २०७९ मङ्सिर १९ गते
पोखरा, १८ मंसिर । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०७९ तथा महिला अधिकारको बारेमा एक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय पोखराले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानव अधिकार रक्षक संजाल, शक्ति समूह तथा फेडोको समन्वयमा भएको सो कार्यक्रममा प्रमुख अतिथि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले समाज परिवर्तनका लागि सबै पक्ष सक्षम हुन जरुरी रहेको बताए । गाउँपालिकाबाट आवश्यक नीतिहरु ल्याउन आवश्यक भएको बताउँदै मन्त्री श्रेष्ठले सिपलाई उत्पादनमा जोड्न सके, सामूहिक खेतीमा लागे, बेरोजगारी न्यूनिकरण गर्ने, उत्पादित बस्तुको उचित मूल्य उपलव्ध गराउन पहल गर्नुपर्ने बताए । सो अवसरमा उनले लैंगिक हिंसाका विरुद्धमा सरकार संवेदनशिल रहेको बताए ।
विशेष अतिथि माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले नीतिगत रुपमा कसरी अगाडी जाने भन्ने बारेमा कार्यक्रम बनाएको बताईन । अहिले समाज रुपान्तरणको चरणमा रहेको बताउँदै अधिकारीले आफ्नो अधिकार आफैंले खोज्न जरुरी रहेको बताईन । उनले समाज रुपान्तरणका कार्यमा आवश्यक नीतिहरु बनाएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकारका बारेमा, लैगिक हिंसा विरुद्धको १६ दिने अभियान र महिला अधिकारका बारेमा इन्सेक गण्डकीका कार्यक्रम अधिकृत शवनम शर्मा र मानव बेचबिखनका बारेमा शक्ति समूहका प्रदेश संयोजक सरीता पौडेलले सहजिकरण गरेका थिए । कार्यक्रमको अध्यक्षता मानव अधिकार समूहका अध्यक्ष डिल्लिराम भण्डारीले गरेका थिए ।