लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : इटहरामा चेतनामूलक कार्यक्रम

सुनाखरी अनलाइन डटकम । २०८१ मङ्सिर १६ गते

इटहरा:  मोरङको रतुवामाईमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् । यसै अन्तर्गत आज वडा नम्बर ८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मानवअधिकार समुह रतुवामाई र विद्यालयस्थित बाल अधिकार चेतना समुहको संयुक्त आयोजनामा भएको हो । 

लैङ्गिक हिंसा विरुद्धको अभियानमा यस बर्षका लागि “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता”  भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको यही मूल नारालाई ब्यानर बनाएर राष्ट्रब्यापीरुपमा लैङ्गिक हिंसा विरुद्धमा जागरण कार्यक्रमहरु भइरहेका छन् । 

लैङ्गिक हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा हुने यो दिवस  हरेक बर्ष नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ । यसै अनुरुप यस बर्ष नेपालमा यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ सम्म मनाइदैछ। 

आज १६ दिने अभियान अन्तर्गत सरस्वती माविमा लैङ्गिक समानताका लागि जागरण रयाली र चेतनामूलक सडक प्रदर्शन गरियो । कार्यक्रमको प्रारम्भमा विद्द्याहरुर्थीहरुले सामाजिक न्याय र लैङ्गिक हिंसा विरुद्धका नारा लेखिएका प्लेकार्डहरु बोकेर विद्यालयबाट इटहरा बजार, ९ नम्बर वडा कार्यालय हुँदै प्रहरी चौकी परिक्रमा गरी भौडाह बजारमा जागरण नृत्य प्रस्तुत गरे । 

तत्पश्चात रयाली पुन: इटहरा बजार आई गोलबन्द भयो र विद्यार्थीहरुले  चेतनामूलक सडक नाटक प्रदर्शन गरे । आइतबार साप्ताहिक हाट समेत रहेकाले स्थानीयसहित बजार भर्न आउने सयौंले  सडक नाटक हेर्ने अवसर पाए । धेरैले नाटकको विषयवस्तु र विद्यार्थीको अभिनयकलाको प्रशंसा गर्दै उनीहरुलाई उत्प्रेरित गरे । नाटक प्रदर्शपछि रयाली पुन: विद्यालय पुगेर कार्यक्रम समापन गरियो ।     

रयालीमा विद्यार्थीहरुलाई शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति एवंम शिक्षक-अभिभावक संघका पदाधिकारी, सामाजिक अभियन्ता, मानवअधिकार समुहका कार्यकर्ता, शुरक्षाकर्मी लगायत स्थानियहरुले साथ दिए। त्यसैगरी स्थानियहरुले सडक किनारमा उभिएर रयालीलाई ताली बजाएर स्वागत र समर्थन पनि गरे । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम अधिकारीले लैङ्गिक हिंसा र यसका विविध स्वरुपका विषयमा प्रकाश पार्नुभयो । जुनसुकै आधारमा हुने लैङ्गिक हिँसा अपराधजन्य कर्म भएको भन्दै यस सम्वन्धी विद्यमान कानूनी व्यवस्थाको बारेमा पनि उहाँले सम्क्षिप्त जानकारी गराउनुभयो ।   

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नगरमा भएका केही कार्यक्रममा सहभागी हुन पाएको उल्लेख गर्दै उहाँले यस कार्यक्रमको सहभागिताले आफु अझ प्रशन्न भएको बताउनुभयो । सभ्य र सुसंकृत समाज निर्माणका लागि यस १६ दिने अभियानले महत्वपूर्ण संदेश प्रवाह गर्ने उहाँको भनाइ थियो । लैङ्गिक समानताका लागि आआफ्नो ठाउँबाट जिम्बेवार भूमिका निर्वाह गर्न पनि प्रहरी निरीक्षक अधिकारीले आग्रह गर्नुभयो ।         

सरकारले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गर्न शैक्षिक संस्थाहरुलाई गरेको परिपत्र अनुसार आफ्नो विद्यालयले भब्यरुपमा सचेतना कार्यक्रम गरेको भन्दै प्रधानाध्यापक कञ्चनमाला बर्माले प्रशन्नता ब्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसंघद्वारा घोषित यो अभियान हरेक बर्ष राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुमा संचालन हुने जानकारी गराउँदै उहाँले नेपालले यसलाई दिएको महत्व प्रशंसनीय रहेको बताउनुभयो। तथापी, यो अभियानलाई सबै शैक्षिक संस्थाहरुले अझै पनि वास्ता नगरेको भन्दै उहाँले दुखेसो समेत ब्यक्त गर्नुभयो । 

नेपालमा लैङ्गिक हिंसा समाज, घरपरिवार, कार्यस्थललगायत अनेकौं ठाउँमा हुने गरेको भन्दै उहाँले यो अभियानले हिँसा पहिचान गर्न र त्यसको निराकरणको लागि चेतनामूलक बाटो देखाउने उल्लेख गर्नुभयो । आफ्ना विद्यार्थीहरुले प्रदर्शन गरेको सडक नाटकले महिला हिँसा, जाँडरक्सीको कुलत, दाइजो कुप्रथालगायतका बिरुद्दमा सचेतना प्रवाह गरेको प्रधानाध्यापक बर्माले बताउनुभयो ।   

बालअधिकार चेतना समुहको नेतृत्वमा प्रस्तुत गरिएको ‘अँध्यारोबाट उज्यालोतिर ‘ नामक नाटकमा स्नेहा दाहाल, कृष्मा पौडेल, निता कटुवाल, केवल प्रधान,दिया थापा, बर्षा नेपाली,शुष्मा निरौला, राधा यादवलगायतले अभिनय गरे । नाटकमा शिक्षिकाद्वय बुलाबुला त्रिताल र कल्पना भट्टराईको समेत अभिनय रहेको थियो । नाटकको लेखन तथा निर्देशन शिक्षिका त्रितालले गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेककी सहजकर्ता रञ्जना अधिकारीले गर्नुभएको थियो ।  

Source: https://sunakharionline.com/news/2952