शिक्षक अभावबारे ध्यानाकर्षण, विद्यार्थीद्धारा वडा कार्यालय तोडफोड

शिरीष न्यूज डटकम । धनुषा । २०७९ माघ २५ गते

धनुषा- अनौपचारिक क्षेत्र सेवा केन्द्रद्धारा गठित बाल अधिकार समुह लक्ष्मी मावि चित्रपुर र मानव अधिकार समुह बटेश्वरले लक्ष्मी माध्यमिक विद्यालय बटेश्वर गाउँपालिका–१ चित्रपुरमा शिक्षक अभाव भएको भन्दै ध्यानाकर्षण पत्र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई बुझाएका छन् । माघ २५ गते इन्सेकको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको हो । बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा विषयगत शिक्षक अभावले विद्यार्थीहरुको पठनपाठन ६ महिनादेखि प्रभावित भएको छ । विषयगत शिक्षक अभावका कारणले कक्षाकोठाको पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले आन्दोलित भएका छन् ।

विद्यालयमा अग्रेजी र सामाजिक विषयको शिक्षक अभाव रहेको छ । भने विज्ञान शिक्षकले अध्यापन गराउँदा विद्यार्थीहरुले नबुझने गरेकाले अविलम्ब शिक्षकको व्यवस्थापन गर्न माग गर्दै बाल अधिकार समुह र मानव अधिकार समुहले ध्यानाकर्षण पत्र बुझाएको हो । माघ २२ गते विद्यार्थीहरु वडा कार्यालयमा पुगेर वडाध्यक्ष अशोक कुमार महतोलाई ध्यानाकर्षण गर्न पुगेका थिए । वडा कार्यालयमा वडाध्यक्ष नभेटेपछि आन्दोलित विद्यार्थीहरुले सडकमा टायर बाल्दै विरोध जनाएका छन् । आक्रोशित विद्यार्थीहरुको भिडले वडा कार्यालयमा तोडफोड समेत गरेका छन् । लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, समाजिक र विज्ञान विषयको शिक्षकको माग गर्दा समेत चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थीहरुले बताएका हुन् । एसईई परीक्षामा अब डेढ महिनामात्र बाँकी रहँदासमेत पढाइ नभएको विद्यार्थीहरुको गुनासो छ ।

Source: https://shirishnews.com/2023/02/08/34863/?fbclid=IwAR1kxsnBdSFb_wLblfkHGakRyp76H7OK0zVvGc2mzGxhKiVNuRFCb1xIWWg