सन् २०१९ मा महिला हिंसाबाट तीनहजार तीनसय जना पीडित
सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६४ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ ।
मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेकले मंगलबार सार्वजनिक गरेको ‘मानवअधिकार वर्ष पुस्तक २०१९’ ले यो तथ्यांक देखाएको हो । जसमध्ये सबैभन्दा बढी घरेलु हिंसाको घटनाका पीडित २ हजार ७९ जना रहेका छन् ।
त्यस्तै बलात्कारका घटनामा ५ सय ३० जना, बलात्कार प्रयासका घटनामा एकसय ४३ जना, यौन दुव्र्यवहारका घटनामा ६३ जना र बेचबिखन तथा ओसारपसार घटनामा ५१ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९ जना, कथित बोक्सीको आरोपमा ४२ जना महिला पीडित भएको वर्ष पुस्तकले देखाएको छ ।
परिवाजनका सदस्यबाट एकसय २९ जना महिलाको हत्या भएको छ । गत वर्ष यो सङ्ख्या एकसय २० थियो । भने जति दाइजो नल्याएको आरोपमा १३ जना महिलाको हत्या भयो भने सोही कारणले ३ सय जना महिला हिंसामा परेको पनि वर्ष पुस्तकमा उल्लेख छ ।
इन्सेकले वर्षेनि वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ । इन्सेकले गरेको अभिलेखअनुसार सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ६ सय ४२ जना पीडित भएका छन् ।
गत वर्ष सन् २०१८ मा यस्ता घटनामा ५ हजार एकसय १० जना पीडित भएका थिए ।