‘सामाजिक सञ्जाल’ शीर्षकको सडक नाटक मञ्चन

कैलाली खबर डटकम । २०८१ माघ १६ गते

सुखड । कैलालीको कैलारी गाउँपालिका–५ पबेरामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा ‘सामाजिक सञ्जाल’ शीर्षकको जनचेतना मूलक सडक नाटक मङ्गलवार मञ्चन गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा विद्यालयमा गठित बाल अधिकार चेतना समूहले ‘सामाजिक सञ्जाल’ शीर्षकको जनचेतना मूलक सडक नाटक मञ्चन गरेको हो ।

पछिल्लो पुस्तामा सामाजिक सञ्जालको लत र त्यसको प्रभावका कारण हुने दुर्घटनाबाट कसरी बस्ने भन्ने सन्देश दिन खोजिएको नाटक ‘सामाजिक सञ्जाल’मा थियो । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इमो, टिकटकको दुरुपयोग गर्दा के–के हानी नोक्सानी हुन्छ र सही सदुपयोग गर्दा के–के फाइदा हुन्छ भनेर नाटकमा देखाइएको बाल अधिकार चेतना समूहका अध्यक्ष प्रतिमा चौधरीले बताइन् ।

यसअघि पनि विद्यालयमा गठित बाल अधिकार चेतना समूहले बाल विवाह, घरेलु हिंसा, लागू औषधको प्रयोग नगरौँ भनेर सडक नाटक गरेको थियो । सडक नाटक मञ्चनमा शिक्षक, शिक्षिका, विद्यार्थी र बाल अधिकार चेतना समूहका पदाधिकारी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Source: https://shorturl.at/Upo06