सुर्खेतमा तेब्बरले बढे मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना, यस वर्षमा मात्रै ३०० बढी
सुर्खेत : एक वर्षमा सुर्खेतमा मात्रै तीन सय मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू घटेका छन्। शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म सुर्खेतमा संकलन गरेका घटनाको सार्वजनिक गरेको हो।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लाको वार्षिक समीक्षा गर्दै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले संकलन गरिएका घटनाहरू सार्वजनिक गरेका हुन्।
हरेक वर्षको फागुन ७ मा विमोचन हुने मानव अधिकार वर्ष पुस्तकका लागि ७७ वटै जिल्लाबाट घटना संकलन गरिएको संयोजक सुवेदीले बताए। संकलन गरिएका घटनामा सरोकारवाला निकायसँग आवश्यक सुझावका आधारमा घटनाहरू समावेश गरिने उनको भनाई छ।
उनका अनुसार सन् २०२३ मा सुर्खेतमा १०४ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना थिए भने यो वर्ष तेब्बरले बृद्धि भएको छ।
समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालले मानव अधिकारका सवालमा अदालत संवेदनशील रहेको बताए।
उनले मानव अधिकार र अपराधमा फरक भएको भन्दै अभियुक्त व्यक्ति पछि निर्दोष हुनसक्ने भएकोले उनीहरुको मानव अधिकारको ख्याल राख्नुपर्ने बताए।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले मानव अधिकारको सुरक्षित कसरी गर्ने, मानव अधिकारलाई कसरी शक्ति सम्पन्न गराउने? भन्ने विषयमा राज्य गम्भीर बन्नुपर्ने बताए।
सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी भरत खनालले मानव अधिकारको सवालमा सबै निकाय र नागरिक पनि सक्रिय बन्नुपर्ने बताए।
जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र वीर विश्वकर्माले प्रहरीले अनुसन्धान गर्ने हरेक घटनाहरूमा मानव अधिकारलाई प्राथमिकता दिएर काम कारवाही गरेको बताए।
Source: https://shorturl.at/034zn